२०८३ जेठ २० , बुधबार

डोल्पाको शे–फोक्सुण्डोमा हतियारधारी समूहद्धारा गुम्बामा लुटपाट



डोल्पा। हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हातहतियारधारी समूहहरु प्रवेश गरेर गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्त्विक सम्पदाहरू लुटेका छन् । ती बन्दुकधारीहरू सो गाउँपालिकाको वडा नं.–४ मा रहको देछेन लाब्राङ गुम्बा र ३ नम्बरमा रहेको शे–चखाङ गुम्बामा रातको समयमा प्रवेश गरी लुटपाट मच्चाएका हुन् ।

अन्य ठुला गुम्बाहरूमा पनि उनीहरूले लुटपाट मच्चाउने र पुरातात्त्विक सामाग्रीहरू कब्जा गर्ने आशङ्का स्थानीयले गरेका छन् । साथै गाउँमा बन्दुकधारी समूह प्रवेश गरेपछि स्थानीयबासीमा त्रास पैदा भएको छ । घटना असार ८ र ९ गतेको हो । तर, सञ्चारको कमी र भौगोलिक समस्याका कारण सोमबार मात्र बाहिर आएको हो ।

डोल्पाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद धनबहादुर बुढाले घटनाबारे संसद्मा जानकारी गराएपछि मात्रै घटनाप्रति सबैको ध्यान गएको छ । सो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङका अनुसार जेठ ८ गते राती ११ बजे देछेन लाब्राङ गुम्बामा उनीहरूले लुटपाट मच्चाएका हुन् ।

स्थानीयको भनाइ उदृत गर्दै उनले भने,‘ पहिलो दिन ६–७ जनाको समूह थियो भने दोस्रो दिन अर्थात् ९ गते राती १० बजे १६–१७ जनाको समूहले शे–चखाङ गुम्बामा लुटपाट मच्चाएका थिए ।’ उनका अनुसार दुईवटा गुम्बामध्ये शे–चखाङ गुम्बा सार्वजनिक गुम्बा हो भने देछेन लाब्राङ गुम्बा व्यक्तिगत गुम्बा हो ।

समूहमा रहेका सबै जनासँग बन्दुक लगायत हातहतियारहरू रहेको बताइएको छ । मान्छेहरू अपरिचित तर नेपाली नै रहेको स्थानीयले जानकारी गराएको अध्यक्ष गुरुङले जानकारी गराए । ‘ हुन चाहिँ नेपाली नै हुन् तर, कहाँका हुन् किन गुम्बामा प्रवेश गरे यकिन हुनसकेन,’ उनले भने ।

उनका अनुसार दुईवटै गुम्बाबाट विभिन्न मूर्तिहरू उनीहरूले लिएका छन् । पूजाका सामानदेखि गुम्बामा भएका सबै गरगहनाहरू उनीहरूले लुटेर लगेका छन् भने नगद रकमहरू पनि लगेका छन् । देछेन लाब्राङ गुम्बाका पुजारी लाडुङ लामा र शे–चखाङ गुम्बाका पुजारी पेमा पुडिन लामालाई उनीहरूले हतियार देखाउँदै धम्क्याउनेदेखि पिटेर घाइते समेत बनाएको अध्यक्ष गुरुङले बताए ।

उनीहरूले पुजारीलाई बाँधेर समेत पिटेका थिए । घाइते पुजारीको गाउँमै परम्परागत तरिकाले उपचार भइरहेको छ । घटनाको अझै मुचुल्का उठेको छैन । लुटिएका सामानहरू कति मूल्यका हुन् रु कस्ता हुन् रु सबैको विवरण यकिन हुन भने सकिरहेको छैन । गाउँमा त्रास बढेपछि पालिकामा रहेका केही प्रहरीलाई गाउँमा खटाइएको छ । घटना घटेको स्थान जिल्ला सदरमुकाम दुनैबाट उत्तरतर्फ ७० कोश टाढा पर्छ ।

प्रहरी निरीक्षकको कमान्डमा जिल्लाभर कडाइ

प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इनिस्पेक्टर) नवीन प्रकाश चपागाइँको नेतृत्वमा जिल्लाबाट १२ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । शनिवार नै टोली पठाइएको र मंगलबार बेलुकासम्म घटना घटेको स्थानसम्म प्रहरी टोली त्यहाँ पुग्ने उनले बताए ।

‘म गएभनेपनि ४–५ दिन लाग्छ, प्रहरीहरू युवाहरू भएकाले ३ दिनमा आज पुग्दै हुनुहुन्छ । पैदल हिँडेर जानुको त्यहाँ अन्य उपाय छैन,’ उनले भने । विभिन्न ठाउँमा गरी २५ जनाको प्रहरी टोली जिल्लाभर परिचालन भएको छ । यस्तै आर्मी र सशस्त्रको टोलीलाई पनि परिचालन गरिएको छ ।

उनले जिल्लाका सबै क्षेत्रका नाकाहरूमा कडाइ गरिएको बताए । जिल्लाबाट बाहिर प्रवेश नगरुन् भनेर सबै निकायलाई परिचालित गरिएको छ । प्रहरी त्यहाँ पुगेपछि घटनाको मुचुल्का उठाउने छ । ‘घटनाको यथेष्ट विवरण आएको छैन, प्रहरी त्यहाँ पुगेपछि मात्रै थाह हुन्छ, हामीले पनि फोनको माध्यमबाट मात्रै घटना सुनेको हो,’ उनले भने,‘ सबैले चिन्ता जाहेर गरेपछि हामीले रेकी गर्नेदेखि सबै निकायलाई सम्बन्धित क्षेत्रमा स्ट्यान्ड बाई राखेका छौँ ।’

साथै उनले घटनाबारे गृह मन्त्रालयमा समेत जानकारी गराइएको बताए । अन्य ठुला गुम्बाहरूमा पनि ती बन्दुकधारी समूहले लुटपाट मच्चाउने आशङ्का स्थानीयले गरेका छन् । ‘शे–फोक्शुण्डो निकुञ्जको आर्मीलाई पनि हामीले यो विषयमा जानकारी गराएका छौँ,’ उनले भने,‘ हामीले सक्दो कोसिस गरेका छौँ, प्रहरी निरीक्षक ज्यु घटनास्थलमा पुगेर केही विवरण पाउनुभयो भने थप अनुसन्धान हुन्छ ।’

यद्यपि त्यहाँका स्थानीयले भने नेपाल सरकारले तत्काल हेलिकप्टर प्रयोग गरी उपर डोल्पामा सबै सुरक्षा निकायका टिम खटाउन आग्रह गरेका छन् । ग्याल्पो डोल्पोपा नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जालमा भनेका छन्,‘ हेलिकप्टर प्रयोग गरी उपर डोल्पामा सबै सुरक्षा निकायका टिम खटाइ हतियारधारी चोरहरू पत्ता लगाइ कानुनी दायरामा ल्याइयोस् ।’

प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार