२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरमा ब्याग डाइजेस्टर बायो ग्याँस प्रविधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम



सुर्खेत । वीरेन्द्रनगरमा ब्याग डाइजेस्टर बायो ग्याँस प्रविधि प्रवद्र्धन सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रिन्युएवल वर्ल्डको आर्थिक सहयोग र सुन्दर नेपाल संस्था सुर्खेत र वि ग्रुपको सहरीकरणमा उक्त कार्यक्रम बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।

कार्यक्रममा रिन्युएवल वर्ल्डले प्रवद्र्धन गरेका नवीकरणीय ऊर्जा प्रविधिको जानकारी दिनुका साथै इन्रिज परियोजनामा भएका उपलब्धि र सिकाईको समीक्षा गरिएको थियो । ब्याग डाइजेस्टर प्रविधि उपयुक्त भएकोले यसलाई स्थानीय सरकार र प्रदेश सरकारले विस्तार गर्नका लागि सुझाव दिइएको थियो ।

ब्याग डाइजेस्टर प्रविधिको बारे सिस्टेमा बायो कम्पनीको तर्फबाट समेत प्रविधिको प्रभावकारिता बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा उद्यमी भिमा डाँगी, सुवर्ण भण्डारीले यो प्रविधिले प्रभावकारी रूपमा काम गरेको बताए ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवम् जलश्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले प्रदेश सरकारले यस्ता नविनतम् प्रविधिको विस्तारका लागि कार्यक्रम तथा बजेटमा समेट्न सकिने धारणा राखेकी थिइन् ।

भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले ब्याग डाइजेस्टर बायो ग्याँस प्रविधि उपयोगी भएको र यसलाई थप स्थानमा प्रवद्र्धन गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको धारणा राखे ।

कार्यक्रममा सुर्खेत र बाँके जिल्लाका प्रतिनिधि तथा सरोकारवाला निकाय सहित ४९ जनाको सहभागिता रहेको थियो । कार्यक्रम मन्त्री विश्वकर्माको प्रमुख आतिथ्यता र रिन्युएवल वर्ल्डका निमित्त राष्ट्रिय निर्देशक ठाकुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार