
रवि हमाल,मुगु । समुन्द्री सतहको ३ हजारदेखि ६ हजार को उचाइमा रहेको मुगुको विभिन्न पाटनमा पाइने बहुमूल्य यार्सागुम्बाको माग स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारसम्म व्यापक रहेको छ । अत्यधिक माग भएको यार्सा सङ्कलकहरू पनि बढिरहेका छन् । तर मुगुको पूर्वी क्षेत्र कामारोङ गाउँपालिकाको पाटनका भने यार्सागुम्बा हराउँदै गएको छ ।
यहाँ जथाभाबी आगलागी हुने चोरी र समय अगावै सङ्कलकहरू यार्सा टिप्ने गरेका कारण पनि यार्सागुम्बा हराउँदै गएको हो । वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । मुगुको कामारोङ गाउँपालिकाको पाटनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा केही वर्ष अघिसम्म प्रशस्त मात्रामा पाइन्थ्यो । एक जनाले मात्रै दैनिक १ सयदेखि ५ सय भन्दा माथि भेटाएको रेकर्ड रहेको छ ।
तर, पछिल्लो समय सङ्कलकहरूले छाडा रूपमा वन प्रवेश गर्दा पाटनबाटै यार्सा हराउँदै गएको स्थानीय समाजसेवीहरूको भनाइ छ । जङ्गलमा सङ्कलकहरूले जथाभाबी आगो लगाउने र खोतल्ने काम गर्दा पनि बहुमूल्य जडीबुटी हराउँदै गएको एक जना स्थानीयले बताए । सङ्कलन गर्ने समय नहुँदै जथाभाबी जमिन उत्खनन तथा आगजनी गर्दा यार्सा कम पाउन थालेको उनको भनाइ छ ।
पालिकाको १ र २ वडामा रहेको सामुदायिक बन क्षेत्रमा सङ्कलन हुने यार्सागुम्बा संरक्षणको लागि पालिकाले समयसीमा निर्धारण गरेको छ । हिमाली भेगका जनताको प्रमुख आयस्रोतको रूपमा रहेको यार्सा संरक्षणमा पालिकासमेत लागि परेको मुगुमकामारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावल बताउँछन् ।
पाटन क्षेत्रको संरक्षण अभाव, घोडा खच्चड र भेडा बाख्राको चरिचरन तथा मौसमी फेरबदलका कारणले गर्दा पनि यार्सा उत्पादन घट्दै गएको स्थानीय जानकारहरू बताउँछन् । बर्सेनि यार्सामा निर्भर सङ्ख्या बढिरहँदा उत्पादन घट्दै जान थालेपछि यार्सा सङ्कलन तथा बिक्री वितरणबाटै जीवन निर्वाह गर्दै आएकाहरू समस्यामा परेका छन् ।