२०८३ वैशाख ८ , मंगलबार

प्रदेश अस्पतालमा उपचारका लागि दुई दिनसम्म पालो कुर्नुपर्ने बाध्यता



कुलेन्द्र शाही, सुर्खेत । ‘ढाड दुख्ने लगायत विभिन्न समस्या छ, यहाँ आएको दुई दिन भइसक्यो, अझै पनि पालो आएको छैन, कति दिन पो कुर्नु पर्ने हो ? विभिन्न बहाना बनाउनुभएको छ,’ यो भनाई हो प्रदेश अस्पताल सुर्खेतमा आएकी एक  बिरामीको ।  वीरेन्द्रनगर नगरपालिका ३ बस्ने बिपना बुढा मङ्गलवार प्रदेश अस्पताल आइपुगिन् । उनी सामान्य बिरामी रहेछन् ।

उनलाई हातखुट्टा दुख्ने, ढाड दुख्ने समस्या रहेछ । तर पनि उनी अस्पताल आएको दुई दिन भइसक्दा पनि उनले पालो पाउन सकिनन् । यस्तै, जाजरकोटबाट आएका शङ्कर बुढाले पनि अस्पतालमा आएको दुई दिन भइसक्दा पनि आफूले अस्पतालबाट सेवा नपाएको गुनासो गरेका छन् । ‘दुई दिन भइसक्यो अहिलेसम्म पनि पालो आएको छैन,’ उनले भने, यति धेरै लाइनमा लाग्नुपर्छ। ‘

उनले ठट्यौली पारामा भने ‘लाइनमा लाग्दा लाग्दै बिरामी नै सन्चो भइहाल्ने, के औषधी गर्नुपर्‍यो र ?’ बुधवार कर्णाली प्रदेश सभाको प्रदेश मामिला समिति प्रदेश अस्पताल कालागाउँ सुर्खेतको स्थलगत अनुगमनमा गयो । अनुगमनका क्रममा उनी लगायत धेरैले समस्याहरू सुनाउन थाले ।

समस्या धेरै भएको उनीहरूको भनाइ छ। अनुगमनमा समितिका सभापति कल्याणी खड्का, सदस्यहरू टेकराज पछाई, रणसिंह परियार, पूर्णबहादुर खत्री, महेन्द्र केसी, दक्षिणा शाही र प्रदेशसभाका कर्मचारीसहितको टोली पुगेको थियो । अनुगमनमा उनीहरूले अस्पतालको आकस्मिक कक्ष, बिमा वार्ड, फार्मेसी, भर्ना भएका बिरामीको अवस्था, अस्पतालको औषधालयलगायतको अनुगमन गरेको थियो ।

विशेषत अस्पताल र सर्वसाधारणको उपचारमा परेका समस्याको विषयमा उनीहरूले जानकारी लिएका थिए । अस्पतालमा स्वास्थ्यकर्मीहरुले आफ्नो परिचयपत्र नलगाएको, बिरामीलाई दुई तीन दिनसम्म कुर्नुपर्ने, अस्पतालको ओपिडी, टिकट काउन्टर, फार्मेसी तथा प्रयोगशालामा भिडभाड, बिरामीहरू बस्ने ठाउँको उचित व्यवस्था नभएको, धेरै होहल्ला भएको र अस्पतालमा ज्येष्ठ नागरिकहरूका लागि कार्यालय सहयोगी नभएको जस्ता समस्या देखिएको अनुगमन पछि देखिएको प्रदेश सभा सदस्य टेकराज पछाइले जानकारी दिए ।

अनुगमनपछि भएको छलफलमा देखिएका समस्यालाई सुधार गर्न समितिका सदस्यहरूले अस्पतालका निर्देशक डाक्टर डम्बर खड्कालाई सुझाव दिएका थिए । उनीहरूले अस्पतालमा भएको भिड नियन्त्रणका लागि आवश्यक व्यवस्थापकीय कामहरू सम्पन्न गर्न सुझावसमेत दिएका छन् । प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले अस्पतालका निर्देशक खड्कालाई अस्पतालको सेवा प्रभावकारी र व्यवस्थित बनाउन निर्देशन दिएकी छन् ।

उनले अस्पताल सुधार गर्नका लागि प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग गरिने समेत प्रतिबद्धता जनाएकी छन् । उनले अस्पतालमा उपचार गरिरहेका सर्वसाधारणका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । यस्तै मामिला समितिका सदस्य रणसिंह परियारले  अनुगमनका क्रममा देखिएका कमी कमजोरी सच्याउन डाक्टर खड्कालाई आग्रह गर्दै अस्पतालको सेवा व्यवस्थित बनाउनका लागि आफूहरूको सहयोग रहने बताए ।

निर्देशक डाक्टर खड्काले अस्पताल सुधार गर्न सकिने विश्वास व्यक्त गरे । उनले अस्पतालमा भएका राम्रा पक्षहरू समेत जानकारी गराएका छन् । उनले अस्पतालको व्यवस्थापन पक्ष र अस्पतालले दिइरहेको सेवामा सुधार गरिने योजना सहित आफूहरू अघि बढेको बताए । अस्पतालमा हाल दैनिक रूपमा १ हजार भन्दा बढी बिरामीले सेवा लिने गरेको उनको भनाई छ ।

उनले कर्णालीका दश वटै जिल्ला मात्र नभई अन्य जिल्ला र भारतबाट समेत बिरामीहरू औषधी गर्न आउने गरेको जानकारी दिए । खड्काले बिमा गरेका बिरामीले यहाँबाट औषधि लिएर बाहिर बेच्ने गरेको गुनासो गरेका छन् । उनले अस्पतालमा भौतिक संरचना बलियो भए पनि केही जनशक्तिको अभाव भएको जानकारी दिए ।

उनले गत २२ माघ २०७९ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको बताउँदै बिहीबार दोस्रो मिर्गौला प्रत्यारोपण गर्न लागिएको समेत जानकारी दिए । निर्देशक खड्काले सामान्य बिरामी भएका बिरामीहरू जिल्ला बाहिरबाट प्रदेश अस्पतालमा आउने गरेको हुँदा स्थानीय तहहरूले यश क्षेत्रमा सुधारका लागि विशेष जोड दिन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधबार