
सुर्खेत । वीरेन्द्रनगरमा लागू औषधसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–६ घर भएर हाल वीरेन्द्रनगर –१२ हरियाली टोलमा बस्ने वर्ष २२ बर्षकी राधिका बुढा रहेकी छन् ।
उनलाई वीरेन्द्रनगर नगरपालिका–१२ हरियाली टोलमा लागुऔषध कारोबार भईरहेको गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र लागूऔषध ब्युरो सुर्खेतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी बुढाको साथबाट प्रहरीले १४ पुरिया नापतौल गर्दा शुद्ध ६८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो ।
यस्तै उनको साथबाट नगद एक लाख २१ हजार ४ सय ५० रुपैयाँ समेत बरामद गरीएको छ । हाल बुढालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २८ गते बिहीबार