
जरायो मारेको आरोपमा पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिँदै प्रहरी र वन कार्यालयको टोली । तस्वीर : लोकजंग शाही ।
सुर्खेत । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउ स्थित प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको ५ जनाको प्रहरी गस्ति टोलीले नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भाग लगाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर –१० बस्ने बर्ष ५२ का डम्मरबहादुर थारु, उनका छोरा वर्ष २१ का सुशील चौधरी, वर्ष २८ का आशाराम चौधरी, वर्ष ४१ का मिन बहादुर वली र वर्ष २३ का सुसिल चौधरी रहेका छन् ।
उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता देखिएकाले अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।