
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर– ७ मेहेलकुनामा पहिलो पटक इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको छ । शनिवार उप– प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले सो कार्यालयको भवन उद्घाटन गरेका हुन् । प्रशासन कार्यालयको उद्घाटन भएसँगै पूर्वी सुर्खेतका नागरिकलाई नागरिकता सेवा लिन वीरेन्द्रनगर जानुपर्ने बाध्यता हटेको छ ।
यसअघि वीरेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकवेसी नगरपालिका र भेरीगंगा नगरपालिकाका नागरिकले अब मेहेलकुनाबाटै सेवा लिन पाउने छन् । प्रशासन कार्यालय उद्घाटन भएसँगै सिफारिस पत्र र नागरिकताको सेवा सुरु भएको छ ।
साथै सेवा प्रारम्भ दिनको अवसरमा दुई ओटा नागरिकता समेत वितरण गरिएको छ । स्थानीय रोशनी शर्मा र प्रेरणा शर्माले नागरिकता प्राप्त गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै रक्षा मन्त्री खड्काले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको बताए । उनले निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भए पनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरू एकताबद्ध भएर जानुपर्ने बताए ।
अब मेहेलकुनामा इलाका प्रहरी कार्यालय पनि छिट्टै सञ्चालन गरिने उनको भनाई छ । कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्ण बहादुर जिसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, लेकवेशी नगरपालिका प्रमुख उमेश कुमार पौडेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि कर्मचारीहरूको उपस्थिति रहेको थियो ।