
सुर्खेत । कर्णालीमा प्रहरीले घरघरमा स्टिकर टाँस्न सुरु गरेको छ । घरघरमा ‘स्टिकर टाँस’ अभियानको आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाबाट सुरुवात गरेका हुन् । कर्णाली प्रदेशका सबै ३ लाख ७१ हजार हजार घरधुरीमा स्टिकर टाँसिने छ ।
कार्यक्रमका प्रमुख अथिति एवम् रक्षा मन्त्री खड्काले प्रहरीको यस अभियानले नागरिक र प्रहरी बीचको सम्बन्ध अझ प्रगाढ हुने बताए ।उनले नागरिकले वास्तविक रुपमा सुरक्षा अनुभूति गर्ने एवम् नागरिक मैत्री सेवा तथा लोकतन्त्रमा नागरिकको सुरक्षा गर्ने राज्यको दायित्वमा थप टेवा पुग्ने आफुले विश्वास लिएको बताए । साथै कर्णाली प्रदेश प्रहरीले सुरु गरेको यो कार्य अत्यन्तै राम्रो र नमुना भएको उनको भनाई छ ।
यस्तै कार्यक्रमका विशेष अतिथि एवम् कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसिले कर्णाली प्रदेश प्रहरीलाई सक्षम बनाउन प्रदेश सरकार हरतवरले सहयोग गर्ने बताए । यस्तै, वीरेन्द्रनगरको नगर प्रमुख मोहन मायां ढकालले सुरक्षित कर्णाली अभियान अन्तरगतको यो कार्यलाई आफ्नो तर्फबाट पूर्ण सहयोग गर्नमा आफु तत्पर रहेको बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी भीम प्रसाद ढकालले कर्णालीको समग्र सुरक्षा सुधारमा यो अभियानले केही सहयोग गर्ने बताए । उनले यस अभियानबाट नागरिक र प्रहरी बिच सम्बन्ध थप राम्रो हुने र अपराध कम हुने विश्वास लिएको बताए । उनले गाउँघर र समुदायमा कुनै असुरक्षित घटना घटे नागरिकले सिधै प्रहरीलाई फोन गर्ने र प्रहरीले तत्काल एक्सन लिने उद्देश्यले स्टिकर टाँसिएको जानकारी दिए ।
प्रहरीको नम्बर सहितको स्टिकर प्रत्येक घरको ढोकामाथि टाँस गरिनेछ । स्टिकरमा नजिकका प्रहरी कार्यालयहरूको फोन नम्बरसहितको विवरण राखिएको छ । डीआईजी ढकालका अनुसार आइतबार कर्णालीका १० वटै जिल्लामा यो अभियान सञ्चालन गरिएको छ । यो अभियानका लागि प्रदेशभर तीन हजार भन्दा बढी प्रहरी खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले आ–आफ्नो क्षेत्रमा स्टिकर टाँस सचेतनामूलक ¥याली नै सञ्चालन गर्नेछन् । नागरिकहरूले कुनै शङ्कास्पद चिज, बाढी, पहिरो गएको खण्डमा वा आफूले असुरक्षाको महसुस गरेमा टाँसिएको नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी दिन सक्छन् ।
तस्बिर हेर्नुहोस् ।





