२०८३ वैशाख ८ , मंगलबार

भेरीगंगामा गरिएको पुर्जा वितरण प्रति नगर प्रमुखको गम्भीर असहमति



सुर्खेत । सुर्खेतको भेरीगंगामा नगरपालिकामा ८ कोटमाझखर्कका भूमिहीन सुकुम्वासीहरूलाई लालपुर्जा वितरण गर्दा एकपक्षीय ढंगले गरिएको भन्दै विरोध सुरु भएको छ । उक्त स्थानमा बसोबास गर्दै आएका २ सय १० जनालाई लालपुर्जा वितरण गरिएकोप्रति भेरीगंगा नगरपालिकाले आपत्ति जनाएको छ ।

आइतबार नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख ढकालले असन्तुष्टि जनाएका हुन् । रेडियो भेरीगंगाले प्रसारण गरेको भिडियो लाइभमा ढकालले पुर्जा वितरण प्रति गम्भीर असहमति जनाएका थिए । नगर प्रमुख यज्ञपसाद ढकालले नगरपालिकाका प्रमुख, उपप्रमुख तथा कुनै पनि कर्मचारीलाई जानकारी नदिएर वडा नम्बर ८ ले लालपुर्जा वितरण गरेकाले आफूहरूले असन्तुष्टि जनाएको बताएका छन् ।

उनले लालपुर्जा वितरण गर्ने अभियान नगरपालिकाले चलाएको, तर लालपुर्जा वितरण गर्दा भने नगरपालिकालाई कुनै जानकारी नदिई वडाले वितरण गरेको प्रति आफू र नगरपालिकाले पूर्णरुपमा आपत्ति जनाएको बताए । उनले नगरपालिकाले लालपुर्जा बाढ्ने योजना बनाएको तर, नगरसभामा र कार्यपालिका बैठकमा व्यस्त हुनुपरेकाले लालपुर्जा वितरण गर्न केही ढिला भएको बताए ।

‘हामी नगरसभा र कार्यपालिका बैठकमा व्यस्त भयौँ, नगरसभा र कार्यपालिका बैठक पनि केही कुरामा सहमति नजुटेर लम्बियो,’ उनले भने, ‘आइतबार १२ बजेतिर नगरसभा सकेर लालपुर्जा बाढ्ने भनी भूमि आयोग सुर्खेतसँग सहमति भएको थियो, त्यसैअनुसार लालपुर्जा बाढ्ने योजना बनाएका थियौ,  बैठक सकेर उपप्रमुख ज्यूले वडा अध्यक्षलाई फोन गर्दा वडा अध्यक्षले जवाफमा बाढिसकेका जानकारी दिनुभयो।’

वडाले आफूहरूलाई खबरै नगरी पहिले नै लालपुर्जा बाढ्नु गलत भएको भन्दै प्रमुख ढकालले त्यो कार्यप्रति नगरपालिकाको पूर्ण आपत्ति जनाए। उनले लालपुर्जा वितरण गर्ने जिम्मा राष्ट्रिय भूमि आयोगको समन्वयमा नगरपालिकाको भएको बताए । ‘लालपुर्जा वितरण गर्ने जिम्मा नगरपालिकाको हो, तर यहाँ नगरपालिकालाई थाहै नदिएर लालपुर्जा बाढिएको रहेछ, यसमा भूमि आयोगको कमजोरी हो कि अरू कसैको हो केही बुझ्न सकिएन, ’ उनले भने।

भूमि आयोगका कुनै पनि प्रतिनिधि यो काममा सहभागी समेत नभएको आफूले सुनेको बताए । यसबारेमा बुझ्न खोज्दा वडा नम्बर ८ का अध्यक्ष पुसे कामीले नगरप्रमुख ढकाललाई लालपुर्जा वितरण गर्नका लागि हजार पटक खबर गरेको भए पनि नगरप्रमुखले आउन नमानेको बताए । उनले नगरप्रमुख नगरसभामा व्यस्त भएको बहाना बनाउँदै यहाँ आउन नमानेको हुँदा आफूले लालपुर्जा बाढ्न बाध्य भएको बताए ।

‘मैले चिठी पठाए, कति पटक फोन गरे, तर पनि नगरप्रमुख ज्युले केही वास्ता गर्नुभएन,’ उनले भने, आइतबार बिहान मात्रै कति पटक फोन गरे, आउनु भनी तर, उहाँले नगरसभालाई छोड्नै सक्दिन भन्नुभयो, जनताले पनि आफूलाई लालपुर्जा छिटो चाहियो भने दबाब दिए। त्यसैले आज लालपुर्जा वितरण गरे,’ उनले लालपुर्जा वितरण गर्ने जिम्मा वडाको समेत भएको दाबी गरे ।

भूमि आयोगका कुनै पनि प्रतिनिधि सहभागी नभएको प्रश्नमा उनले भूमि आयोगका एक जना प्रतिनिधि कार्यक्रममा सहभागी भएको जानकारी दिए। अध्यक्ष कामीले नगरप्रमुख ढकालले मन परेको ठाउँमा बजेट बढी दिएको र अरू वडा बजेट कम दिएको समेत आरोप लगाए। उनले अन्य वडाको तुलनामा  वडा नम्बर ८ मा बजेट कम दिएको बताउँदै वडा नम्बर ९ र १२ मा धेरै बजेट दिएको आरोप लगाए ।

‘वडा नम्बर ९ मा उपप्रमुख धनसरा बोहोराको घर भएको र १२ मा नगरप्रमुख ज्यूको घर भएकाले त्यहाँ बजेट धेरै हाल्नुभएको छ, तर ८ मा किन हो बजेट न्यून आएको छ, उहाँले आफूले मन लागेको मात्रै काम गर्नुहुन्छ।’ उनले लालपुर्जा वितरण कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी, सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल र अन्य व्यक्तिहरूको उपस्थिति रहेको बताए।

नगर प्रहरीको विषयले विवादित बन्यो नगरसभा  

भेरीगंगा नगरपालिकाको तेह्रौँ नगरसभा १० गतेदेखि सुरु भएको भए पनि बैठक केही विषयले बारम्बार स्थगित हुँदै आएको थियो । नगरप्रमुख ढकालले नगर प्रहरी राख्ने योजना बनाएको तर त्यसमा काङ्ग्रेसबाट विजयी सदस्यहरूले विरोध गरेकोले नगर सभा सम्पन्न हुन सकेको थिएन। बहुमतमा रहेको नेपाली काँग्रेसले बजेट फेल गराउन थालेपछि नगर प्रमुख ढकालले मिडियाबाट लाइभ गरेका थिए। बैठकको श्रव्यदृष्य बाहिरिएपछि सबै जिम्मेवार रूपमा प्रस्तुत भएको बैठकमा सहभागी एक सदस्यले बताए।

तर अध्यक्ष कामीले नगर प्रहरी अर्को वर्ष राखौला भनी आफूहरूले अडान लिएको र नगरप्रमुखले यसै वर्षदेखि राख्ने भनेकोले बैठक लम्बिएको उनको भनाइ छ। यसैका कारण नगरसभा धेरै दिनसम्म विवादित बनेको वडा अध्यक्ष कामीले बताए । नगरप्रमुख ढकालले भने नगर प्रहरीको आवश्यकता भएकाले नगर प्रहरी राख्नलाई आफू लागिपरेको बताए । उनले गत वर्षदेखि नै नगर प्रहरी राख्ने भनी ऐन, नीति तथा कार्यक्रमहरू पास भएको तर, केही साथीहरूको असहमतिले काम असफल नभएकाले यस पटक हिउँदे अधिवेशनमा बजेट विनियोजन गरेर नगर प्रहरी राख्नेबारे छलफल भएको बताए ।

प्रमुख ढकालले केन्द्रबाट बजेट कम आएको, तर जनताका मागहरू धेरे भएकाले पनि नगरसभा र कार्यपालिका बैठक विवादित बनेको बताए । उनले नगरसभामा हिमशिखर क्याम्पसको भवन, नगरपालिकाको प्रशासनिक भवन र जहरेमा नगर अस्पताल बनाउने विषयमा केहीले सहमति जनाएको र केहीले असहमति जनाएको हुँदा पनि सभा केही विवादित बनेको जानकारी दिए ।

उनले भने ‘नगरसभामा हिमशिखर क्याम्पसको भवन, नगरपालिकाको प्रशासनिक भवन र जहरेमा नगर अस्पताल बनाउने भनी कसैले भनेको र कसैले नबनाउने भनेको हुँदा बैठक विवादित भएको थियो, त्यसमा हामी सबैले सहमति गर्याै, र अन्तिममा केही साथीहरूले बजेट मागे अनुसार आएन भनेर फेरी असन्तुष्ट जनाउनुभयो,  आइतबार बसेको नगर सभाले भेरीगंगा नगरपालिकाको आव ०८०/०८१ को बजेट पारित गरेको छ ।

May be an image of 4 people and text that says 'जयाग जिलला सामात सुखत द्वारा तयार पारिएका जगगा धनी द माण पूरजी वितरण फम'May be an image of 9 people, temple, dais and textMay be an image of 9 people and text

प्रकाशित मिति : २०८० साउन १ गते सोमबार