२०८३ वैशाख ८ , मंगलबार

के हो कर्णालीमा आइतबारदेखि सुरु भएको ‘स्टिकर टाँस’ अभियानको उद्देश्य ?

के होलान् अभियानका उपलब्धिहरू ?


कुलेन्द्र शाही, सुर्खेत । कर्णालीमा प्रहरीले घरघरमा स्टिकर टाँस्न सुरु गरेको छ । घरघरमा ‘स्टिकर टाँस’ अभियानको आइतबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाबाट सुरुवात गरेका छन् । कर्णाली प्रदेशका सबै ३ लाख ७१ हजार घरधुरीमा स्टिकर टाँसिने अभियानको  कार्यक्रमका प्रमुख अतिथि एवम् रक्षा मन्त्री खड्काले गरेका हुन। उनले प्रहरीको यो अभियानले नागरिक र प्रहरी बिचको सम्बन्ध अझ प्रगाढ हुने बताए ।

उनले नागरिकले वास्तविक रूपमा सुरक्षा अनुभूति गर्ने एवम् नागरिक मैत्री सेवा तथा लोकतन्त्रमा नागरिकको सुरक्षा गर्ने राज्यको दायित्वमा थप टेवा पुग्ने आफूले विश्वास लिएको बताए । साथै कर्णाली प्रदेश प्रहरीले सुरु गरेको यो कार्य अत्यन्तै राम्रो र नमुना भएको उनको भनाई छ । यस्तै, कार्यक्रमका विशेष अतिथि एवम् कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले कर्णाली प्रदेश प्रहरीलाई सक्षम बनाउन प्रदेश सरकार हर तवरले सहयोग गर्ने बताए ।

वीरेन्द्रनगरको नगर प्रमुख मोहनमाया ढकालले सुरक्षित कर्णाली अभियान अन्तरगतको यो कार्यलाई आफ्नो तर्फबाट पूर्ण सहयोग हुने बताइन् । यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भीमप्रसाद ढकालले कर्णालीको समग्र सुरक्षा सुधारमा यो अभियानले केही सहयोग गर्ने बताए । उनले यस अभियानबाट नागरिक र प्रहरी बिच सम्बन्ध थप राम्रो हुने र अपराध कम हुने विश्वास लिएको बताए ।

यो पनि हेर्नुहोस् – तस्बिरमा हेर्नुहोस् कर्णालीमा घरघरमा स्टिकर टाँस्ने अभियान

उनले गाउँघर र समुदायमा कुनै असुरक्षित घटना घटे नागरिकले सिधै प्रहरीलाई फोन गर्ने र प्रहरीले तत्काल एक्सन लिने उद्देश्यले स्टिकर टाँसिएको जानकारी दिए । यस अभियान अन्तर्गत प्रहरीको नम्बर सहितको स्टिकर प्रत्येक घरको ढोकामाथि टाँस गरिनेछ । स्टिकरमा नजिकका प्रहरी कार्यालयहरूको फोन नम्बरसहितको विवरण राखिएको छ । डिआइजी ढकालका अनुसार आइतबार कर्णालीका १० वटै जिल्लामा यो अभियान सञ्चालन गरिएको छ ।

यस अभियानका लागि प्रदेशभर तीन हजार भन्दा बढी प्रहरी खटाइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले आ–आफ्नो क्षेत्रमा स्टिकर टाँस र सचेतनामूलक ¥याली नै सञ्चालन गरेका छन्। । नागरिकहरूले कुनै शङ्कास्पद चिज, बाढी, पहिरो गएको खण्डमा वा आफूले असुरक्षाको महसुस गरेमा टाँसिएको नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी दिन सक्छन् ।

के हो अभियानको उद्देश्य ? 

डिआइजी ढकालका अनुसार प्रहरीले सुरु गरेको घरघरमा स्टिकर टाँस अभियानले विभिन्न उद्देश्यहरू लिएको छ । जसमा सबै तिरको सूचनामा प्रहरीको सहज पहुँच बढाउने, प्रहरी र नागरिक बिच सुमधुर सम्बन्ध बनाउने, प्रत्येक नागरिकहरूलाई प्रहरी सेवा प्रति आश्वत बनाउने, अपराध रोकथाम र अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउने, अपराध र आपराधिक तत्त्वहरू निरुत्साहित गर्ने र नागरिकहरूलाई अझ नजिकबाट सुरक्षाको अनुभूति दिलाउने रहेका छन् ।

के होलान् अभियानका उपलब्धिहरू ?

कर्णाली प्रदेश प्रहरीले आइतबारबाट सुरु गरेको यो अभियानले धेरै नै उपलब्धिहरू हासिल गर्ने विश्वास प्रहरीले लिएको छ । नागरिक पनि बिनाबर्दिको प्रहरी सरह हुने, नागरिकले सूचना दिने र सहयोग लिने कुरामा वृद्धि हुने, नागरिकबाट सूचना प्राप्त हुन साथ तुरुन्त घटनास्थलमा पुगी आवश्यक कारबाही गर्न सकिने तथा शान्ति सुरक्षामा टेवा पुग्ने, अपराधहरूमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्ने सकिनेछ।

यसै गरी, सम्पूर्ण गाउँ घर टोलमा प्रहरीले वस्तुस्थितिको जानकारी लिन सहज हुने, अपराध रोकथाम र अनुसन्धान कार्यमा थप प्रभावकारी हुने, नागरिक, प्रहरी र स्थानीय सरकार बिचमा विश्वासको वातावरण सृजना हुने, गाउँ–ठाउँमा भएका घटना तत्काल प्रहरीले थाहा पाउने र सुरक्षा व्यवस्था सुधार गर्न सहज हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमबार