
जुम्ला । जुम्ला गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष पक्राउ परेकी छन् । गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई थप्पड हान्ने गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल पक्राउ परेकी हुन् । आइतबार दिउँसो गाउँ कार्यपालिकाको बैठकमा उपाध्यक्ष मल्लले आफूलाई थप्पड हानेको भन्दै अपराह्न ४ बजे बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए ।
त्यसपछि मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए । अध्यक्ष बुढाले आफूमाथि उपाध्यक्ष मल्लले सुरुमा थप्पड हान्दै हातपात गरेको र पछि चप्पलले समेत हिर्काएको बताएका छन् । साथै आफुलाई न्याय दिलाइदिन प्रहरीलाई आग्रह समेत गरेका छन् ।
उपाध्यक्ष मल्लले आफूले अध्यक्षलाई हातपात गरेको स्वीकार गरेकी छन् । उनले आफूमाथि भएको अत्याचार सहन नसकेर हातपात गर्न बाध्य भएको बताएकी छन् । १० असारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूलाई जानकारी नगराई कार्यक्रम गरिएको, आफ्नो पक्षमा काम नगर्ने बित्तिकै प्रमुख प्रशासकीय बदल्ने जस्ता कामहरू अध्यक्ष बुढाले गरेको उनले आरोप लगाएकी छन् ।
यस्तै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का वडा अध्यक्ष अर्जुन महताराले उपाध्यक्ष ज्युले अध्यक्षको कार्यकक्षमा पुगेर हातले गालामा दुई थप्पड हिर्काएपछि चप्पलले पनि हिर्काएको बताएका छन् । उनले उपाध्यक्षले अध्यक्षलाई हातपात गरी कानुन हातमा लिएको बताए ।
‘उहाँ र अध्यक्षको कार्यकक्ष एउटै कोठामा छ, हामी ६/ ७ जना बसेर छलफल गरीरहेका थियौ, बसिरहेको बेलामा सरासर आएर बजेटको सिलिङ्ग चाहियो भन्नुभयो, अध्यक्ष ज्युले हुन्छ म निकाल्न लगाउँछु मात्रै के भन्नुभएको थियो उहाँले गालामा दुइ थप्पड हान्नुभयो,’
उनले खबरदृष्टिसँग भने, ‘फेरी चप्पलले ढाडमा हान्नुभयो, यदि चित्त बुझेको थिएन भने, कानुनी उपचारमा जाने हो, यसरी अध्यक्षलाई हातपात गर्ने होइन् नि त, उहाँले कानुनको धव्जी उढाउनुभएको छ, उहाँलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।’ उपाध्यक्ष मल्ल नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुन् भने अध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।