
रवि हमाल, मुगु । मुगुको छायानाथ रारा नगरपालिकास्थित गमगढी बजार एक सातादेखि अन्धकारमय बनेको छ । साना जलविद्युत आयोजनाको क्यानलमा ढुङ्गा ,बालुवा, लेदो पस्दा र मर्मत गर्नको लागि बन्द रहेको विद्युत् आयोजना हालसम्म सफा गर्न नसक्दा गमगढी बजार लगायत दर्जन बस्तीका ३ हजार परिवार एक सातादेखि अन्धकारमय बनेका हुन् ।
भारी वर्षासँगै गमखोलाबाट बालुवा, लेदो, बगेर गमगाढ जलविद्युत आयोजनाको नहरको पानी बग्न समस्या उत्पन्न भई विद्युत् सेवा अवरुद्ध हुँदा करिब ३ हजार परिवार एक सातादेखि अन्धकारमय बनेको गमगाढ जलविद्युत आयोजना वितरण केन्द्र प्रमुख साजन ऐडीले बताए । उनले गमगाढ खोलाबाट बगेर आएको लेदो र बालुवा विद्युतको नहरमा पसेर विद्युत् सेवा अवरुद्ध भएको र दिउँसो नहर सफा गरे पनि राति लेदो र बालुवा भरिएर फेरि समस्या उत्पन्न हुने गरेको ऐडीको भनाइ छ ।
’नहरको लेदो र बालुवा सफा गर्दै हैरान भइसकियो,’ ऐडीले भने, ’एक साता भइसक्यो विद्युत् सुचारु गर्न सकिएको छैन ।’ एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गमगढी बजार, कार्कीबाडा, भामबाडा, ढुम, श्रीनगर, पिना, ताल्च, बालै, रुघा, थार्प, लगायत दुई दर्जन बस्ती प्रभावित बनेका छन् । विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालय साथै अन्य वित्तीय संस्थाको नियमित कामकाज गर्न पनि कठिनाइ भएको छ । विद्युत् अभाव हुँदा स्थानीयहरू पैसा तिरेर जेनरेटरबाट मोबाइल चार्ज गर्न बाध्य भएका छन् ।
यसरी मोबाइल चार्ज गरे बापत घण्टाको ५० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको गमगढीका स्थानीय जय बहादुर बुढाले बताए । २०६८ साल देखि सञ्चालनमा आएको ४ सय किलो वाटको गमगाढ जलविद्युत हरेक बर्खामा अवरुद्ध हुने गरेको छ । गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षाले उक्त जलविद्युत आयोजनालाई क्षतिग्रस्त बनाएको हो ।
यससँगै मुगुमा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार कार्य सुस्त देखिँदा यस्तो समस्या भोग्नु परेको जिल्लावासीहरूको गुनासो छ । छिमेकी जिल्ला जुम्ला, कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भए पनि मुगुमा भने अझै पनि उक्त लाइन पुग्न सकेको छैन । मुगुमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारमा तीव्रता दिनुपर्ने भन्दै नेपाल सरकारलाई दबाब दिनुपर्ने स्थानीय अगुवाहरूको भनाइ रहेको छ ।



