सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकले एक मिडिया प्रालिलाई बेरित बिल (बिल नम्बर हातले लेखेको) आधारमा भुक्तानी दिएको पाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न विज्ञापन प्रकाशन गरेवापत एक मिडियालाई ४० हजार २ सय ६५ रुपैयाँ रकम भुक्तानी गरेको पाइएको हो । बिल नम्बर हातले लेखेको आधारमा भुक्तानी दिएकोले उक्त रकम असुलउपर हुनुपर्ने महालेखापरीक्षकले औंल्याएको छ ।
नगरपालिकाले भने हालसम्म पनि उक्त रकम असुलउपर गर्न कुनै चाँसो लिएको छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९(५) बमोजिम सरकारी खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण र कागजात संलग्न हुनुपर्ने व्यवस्था छ । तर, नगरपालिकाले नियमविपरीत एक मिडियालाई रकम भुक्तानी दिएको हो । यसरी बिल नम्बर हातले लेखेको आधारमा ४० हजार भन्दा बढी रकम नगरपालिकाले भुक्तानी दिँदा नगरपालिकाको भुक्तानी प्रकृया प्रति प्रश्न उब्जिएको छ ।
यसबारेमा बुझ्न खोज्दा वीरेन्द्रनगर नगरपालिकाका लेखा शाखा प्रमुख हरि क्षेत्रीले यस्तो कार्य अन्जानमा भएको बताए । साथै बिल नम्बर हातले लेखेको बिलको भुक्तानी दिँदा कार्यालयका कुनैपनि कर्मचारीको ध्यान नगएको बताए । उनले यस्तो काम धेरै नभएको र आईन्दा भुक्तानी दिँदा सचेत हुन पाठ सिकाएको समेत उनले बताए ।
क्षेत्रीले हातले बील नम्बर लेखेको बिल बुझ्नै नमिल्ने बताउँदै यस्तो कार्यप्रति कसैको पनि ध्यान नगएकाले यस्तो हुन गएको स्वीकार गरे । उनले आन्तरिक राजस्व कार्यालयबाट कर समायोजन र कर चुक्ताको प्रमाणपत्र नगरपालिकामा बुझाएपछि उक्त बेरुजु रकम उक्त प्रालिको नामबाट हट्ने बताए । तर, प्रालिका सञ्चालकले हालसम्मपनि उक्त काम नगरेको उनले जानकारी दिए ।