
फाइल तस्बिर
मोहनसिङ, बुढा हुम्ला । नेपाल टेलिकमले हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकामा पहिलो पटक फोर जी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमबाट गएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा टावरको जडान कार्य पूरा गरेर फोर जी सेवा सञ्चालनमा ल्याएको हो ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले धेरै लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन गर्न सफल भएको जानकारी दिए । फोरजी सेवा सञ्चालनमा आएसँगै यहाँका स्थानीयहरु प्रत्यक्ष लाभान्वित भएको उनले जानकारी दिए । नेपाल टेलिकमको माइक्रो वेभबाट फोर जी सेवा सुचारु भएसँगै नाम्खा गाउँपालिकाका इन्टरनेट सेवा सहज भएको छ ।
यसअघि गाउँपालिकाले केन्द्रमा रहेको कार्यालयमा वल्र्डलिंकको इन्टरनेट सेवाबाट महंगोमा शुल्क तिरेर काम गर्दै आएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले वार्षिक साढे बाह्र लाख रुपैयाँ वल्र्डलिंकलाई शुल्क तिरिँदै आएकोमा अब त्यो आर्थिक ब्ययभारबाट गाउँपालिकाले छुटकारा पाएको जानकारी दिए ।
पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन् । गाउँगाउँमा फोर जी सेवा पुनः सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको स्थानीय केशब बुढाले बताए । घरबाहिर भएकाले बुबाआमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी समेत व्यक्त गरेका छन् ।