२०८३ वैशाख ८ , मंगलबार

पशुसेवा कार्यालयहरूको प्रगति समीक्षा वीरेन्द्रनगरमा सुरु, सल्यान सबैभन्दा उत्कृष्ट



सुर्खेत । कर्णालीका १० जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी वीरेन्द्रनगरमा सुरु भएको छ । पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पंगेनीको अध्यक्षता र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माको प्रमुख आतिथ्यतामा आइतबार सुरु भएको गोष्ठीमा आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभर गरेका गतिविधिको प्रगति सार्वजनिक गर्न संयुक्त रूपमा प्रदेशस्तरीय समीक्षा गोष्ठी आयोजना गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव नरहरि प्रसाद घिमिरे, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. विकास श्रेष्ठ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेत योजना महाशाखा प्रमुख राजु भुज, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेत पशुपन्छी विकास महाशाखा प्रमुख प्रचण्ड खड्का लगायत अन्य कर्मचारी र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गोष्ठी सोमवारसम्म चल्नेछ । आइतबारको कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका कार्यालय प्रमुखहरूले वर्ष भरी गरेका गतिविधि तथा कार्यक्रम र तीनको प्रगति विवरण सार्वजनिक गरेका थिए । जसअन्तर्गत सबैभन्दा राम्रो प्रगति विवरण सल्यानले प्रस्तुत गरेको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द बहादुर महतले ८७.६ प्रतिशत वार्षिक प्रगति गरेको बताए ।

उनकाअनुसार सल्यानमा बेरुजु रकम शून्य रहेको छ । उनले सल्यानमा भनेअनुसार कर्मचारीको जनशक्ति नभए साथै प्राप्त श्रोत साधन केन्द्र समेत नभएको गुनासो गरे । यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका प्रमुख ज्ञानुप्रसाद शर्माले ५४.१५ प्रतिशत वार्षिक प्रगति गरेको बताए । उनकाअनुसार रुकुममा माछा मासुका साथै दूध उत्पादन जिल्लामा वृद्धि हुँदै गएको छ ।

केही वर्षयता माछा मासुमा जिल्ला आत्मनिर्भर बन्दै गएकाले जिल्ला बाहिरको आस गर्नु नपर्ने उनको भनाई छ । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले ७८.८२ प्रतिशत वार्षिक प्रगति गरेको बताउँदै उनले जिल्लामा ५ जना कर्मचारीको दरबन्दी रिक्त रहेको जानकारी दिए । उनले जिल्लामा सवारी साधन पुरानो र मर्मतको बजेट कम विनियोजन भएकोले काम गर्न पनि समस्या भएको बताए ।

उनले १ सय ९७ जना कृषक व्यावसायिक भएको, ४९ जना युवा कृषि रोजगारीमा संलग्न भएको जानकारी दिए । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका भीमचन्द्र बुढाले ८८.५ प्रतिशत प्रगति गरेको बताए । उनले पनि जिल्लामा कर्मचारीको अभाव भएको बताएका छन् । साथै जिल्लामा लम्पीस्किन रोग पनि भयावह बन्दै गएको जानकारी दिए । कर्णाली दश वटै जिल्लाका पशु शाखा प्रमुखले लम्पीस्किन भयावह भएका बताएका छन् ।

उनीहरूले जिल्लामा कर्मचारीको अभाव भएको र काम गर्नमा पनि निकै समस्या भएको गुनासो गरेका छन् । यस्तै उनीहरूले मन्त्रालयबाट संशोधित कार्यक्रम समयमा प्राप्त नहुनु, कृषकको सोचमा परिवर्तन नआउनु, सरकारका तीनै तहसँग सहकार्य र समन्वय गरी प्रभावकारी कार्यक्रम गर्न समयको अभाव हुनु लगायत अन्य थुप्रै समस्याहरू सुनाएका थिए । कार्यक्रममा कर्णालीका कृषि मन्त्री शर्माले जिल्लाको भूगोल अनुसार विभिन्न कार्यक्रम र बजेट विनियोजन गर्न सबैमा आग्रह गरेका छन् ।

कार्यविधि र मापदण्डलाई आधार बनाएर कार्यक्रम गर्न सबैमा उनले अनुरोध समेत गरेका छन् । यस्तै उनले प्रदेशमा मन्त्री कर्मचारी र स्थानीय तहका कर्मचारी जनप्रतिनिधि सबै एकजुट हुन आवश्यक रहेको बताए । मन्त्री शर्माले मन्त्रालयबाट पेस भएको बजेट समेत किसानले नपाएको बताए ।

उनले भने, ‘वास्तविक किसानले यहाँबाट पठाइसकेको समेत बजेट पाउन सक्नु भएको छैन, यसको जिम्मेवारी कसले लिने, कतै पठाएको बजेट उहाँहरूले पाउनु हुन्न, कति रकम फ्रिज भएर गइसक्यो, त्यसैले सबैले सरकार भएको अनुभूति हुने गरी काम गर्न र दिएको बजेट सबै किसानलाई दिन अनुरोध गर्छु ।’ उनले किसानलाई प्रोत्साहन गर्नेतर्फ सबै अग्रसर हुन सुझाव दिएका छन् । साथै “लम्पीस्किन“ रोगलाई गम्भीरतापूर्वक लिन उनले निर्देशन समेत दिएका छन् ।

सुर्खेतमा विपद्पीडित २१ किसानलाई १४ लाख रकम राहत

सुर्खेतका विभिन्न पालिकाका २१ जना कृषकलाई पशुपन्छी विकास निर्देशनालयले १४ लाख भन्दा बढी रकम दिएको छ । विभिन्न विपद्मा परेर पशुपन्छीको क्षति भएका २१ जना कृषकलाई प्रहरी मुचुल्का, पीडितले दिएको निवेदन, जिल्ला प्रशासन कार्यालय सुर्खेतको पत्र र स्थानीय तहले दिएको सिफारिसका आधारमा १४ लाख ८२ हजार ९ सय २५ रुपैयाँ राहत प्रदान गरिएको निर्देशनालयका निर्देशक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।

उनकाअनुसार १ हजार २ सय १३ जना दूध उत्पादन गरेका कृषकलाई रु पाँचका दरले ९ लाख ८१ हजार लिटर दूधमा अनुदान र ५० लाख बजेट विनियोजन भएकोमा ४९ लाख ५ हजार रकम कृषक प्रोत्साहन बापत प्रदान गरिएको छ । उनीहरूलाई दूध सङ्कलन, दुग्ध सहकारी, डेरीमा दूध बचेको प्रमाणित भरपाई र स्थानीय पशु सेवाको सिफारिसका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराइएको हो ।

८ हजार बढी पशुको लम्पीस्किन रोगबाट मृत्यु
असार ३१ गतेसम्ममा कर्णालीका १० जिल्लाका गरी करिब ८ हजार बढी पशुको लम्पीस्किन रोगबाट मृत्यु भएको छ । पशुपन्छी विकास निर्देशनालयका निर्देशक पङ्गेनीका अनुसार कर्णालीका १० जिल्ला गरी ८ हजार ७ सय ६३ पशुको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी जाजरकोटमा २ हजार ७ सय ७२ र जुम्लामा २७ पशुको मृत्यु भएको छ ।

यस्तै हुम्लामा १ हजार ६ सय ८३, डोल्पामा ३ सय ७४, मुगुमा १ सय २१, कालिकोटमा ७ सय ८५, दैलेखमा ५ सय १२, सुर्खेतमा १ हजार ३०, सल्यानमा १ हजार २० र रुकुम पश्चिममा ४ सय ६९ पशुको मृत्यु भएको निर्देशक पङ्गेनीले जानकारी दिए । यस्तै, कर्णालीमा उक्त रोगबाट २ लाख १७ हजार १ सय ३५ पशु सङ्क्रमित भएका छन् । यसमध्ये १ लाख ३७ हजार ६ सय ९४ पशुको उपचार गरिएको र १२ हजार ४ सय ४३ पशुलाई खोप लगाइएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार