२०८३ वैशाख ८ , मंगलबार

कर्णालीका ४ सय बढी किसानलाई ३९ लाख गोठालो भत्ता



सुर्खेत । कर्णालीका ४ सय ४० व्यवसायीक किसानले ‘गोठालो भत्ता’ पाएका छन् । कर्णालीको कृषि मन्त्रालयको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयको वार्षिक कार्यक्रम अन्तरगत उनीहरुले गोठालो भत्ता पाएका हुन् ।कर्णालीका पशु अस्पताल तथा पशु सेवा कार्यालय मार्फत गत आवमा हुम्ला, मुगु, जुम्ला र डोल्पामा कार्यक्रम लागु भएको थियो ।

सोही अनुसार ४४० कृषक तथा गोठालोलाई ३९ लाख ७ हजार ६० पैसा रकम वितरण गरिएको हो । जसमा सबैभन्दा बढी हुम्लाका किसानले ‘गोठालो भत्ता’ पाएका छन् । हुम्लाका १०९ जना कृषकले १५ लाख ६९ हजार भत्ता पाएको निर्देशनालयका निर्देशक कृष्ण पंगेनीले जानकारी दिए ।

यस्तै जुम्लाका २२५ जना कृषकले ४ लाख ३० हजार, मुगुका ५३ जना कृषकले ९ लाख ५४ हजार र डोल्पाका ५० जना कृषकले ९ लाख ५० हजार रकम गोठालो भत्ता पाएका हुन् । उनीहरूलाई मासिक १ हजार ५ सय का दरले वार्षिक १८ हजार रकम दिएको निर्देशक पंगेनीले बताए । उनकाअनुसार यी चार जिल्लाका ५० भेडा च्याङ्ग्रा पालेका किसानलाई प्रोत्साहन स्वरुप भत्ता दिएको बताए ।

यता पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र २२५ जनाले गोठालो भत्ता पाएको जनाएको छ । सरकारले प्रोत्साहन भत्ता दिने भएपछि आफूहरूलाई केही सजिलो भएको जुम्लाको हिमा गाउँपालिका ५ की सपना शाहीले बताइन् ।

एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस भनेर उनीहरूलाई प्रोत्साहन स्वरूप गोठालो भत्ता दिने गरिएको छ । यस चालू आर्थिक वर्षको लागि पनि सरकारले केही बजेट छुट्टयाएको छ ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमबार