
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै अर्गानिक होटेल सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर–१० शान्तिनगरमा पर्यटन व्यवसायी चिन्तामणि शर्माले अशोका अर्गानिक होटेल मङ्गलवारदेखि सञ्चालनमा ल्याएका हुन् ।
कर्णालीमा उत्पादन हुने रैथाने अन्नका परिकारहरू अर्गानिक होटेलमा पाइनेछन् । दाउराको प्रयोग गरेर खाना पकाइने कर्णाली प्रदेशकै पहिलो होटेलमा माटोको भाडामा पकाइने तराईतिर चर्चित मटन कटिया र चिकेन कटिया उपलब्ध हुनेछ।
अर्गानिक होटेलको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले मङ्गलवार उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै मन्त्री शर्माले कर्णाली सरकारले अर्गानिक घोषणा गर्ने लक्ष्यमा व्यवसायीहरूले अर्गानिक परिकारसहितको होटेल सञ्चालनले थप ऊर्जा प्रदान गरेको बताए ।
अर्गानिक प्रदेशको पहिचानमा अशोका अर्गानिक होटेलले थप टेवा पुग्ने विश्वास उनको छ । १५ कोठा भएको लजसहितको होटेलले कर्णालीका विभिन्न अर्गानिक परिकारहरूको स्वाद दिने उद्देश्यले होटेल सञ्चालनमा ल्याएको सञ्चालक शर्माले जानकारी दिए ।
होटेल सञ्चालन गर्न करिब सात करोड लगानी लागेको उनको भनाई छ । होटेलमा अर्गानिक खानाको व्यवस्था गरिएको सञ्चालक शर्माले बताए । ‘पाहुनालाई अर्गानिक नेपाली खाना खुवाउँछौँ,’ शर्माले भने, ‘खानाको गुणस्तर कायम राख्न कोसिस गरिनेछ ।’ आत्मीय आतिथ्य सत्कारलाई प्राथमिकता दिइने उनको भनाई छ ।
उनकाअनुसार अर्गानिक तरकारी, मार्सी चामल, लोकल कुखुराको मासुका परिकार होटेलमा आउने हरेक ग्राहकहरूलाई खुवाउने र ती खानेकुरा सबै आगोमा पकाउने व्यवस्था गरिएको छ। अर्गानिक बाहेकका परिकारहरूलाई खासै प्राथमिकता नदिने उनले बताए। कर्णाली प्रदेशमा उत्पादन हुने चिनो, कागुनो, मार्सी, फापर, कोदो लगायतका विभिन्न रैथाने खाद्यान्नहरूबाट ग्राहकहरूको स्वास्थ्य राम्रो हुने उनको भनाइ छ।
शर्माले भेरीगंगाको सत्तरीमा आफ्नै कृषि फर्मसमेत सञ्चालन गरेका छन्। जहाँ लोकल कुखुरा र विषादी र रासायनिक मल प्रयोग नगरीकनै तरकारीहरूको उत्पादन गरिँदै आएको छ। त्यहाँ उत्पादित तरकारीहरू अशोका होटेलमा पाक्ने गरेको उनको भनाइ छ।सञ्चालक शर्माले वीरेन्द्रनगर–१० दैलेख रोड चोकमा समेत होटेल अशोका सञ्चालन गर्दै आएका छन् ।
