सुर्खेत । घटना १ : २०८० साउन ५ गते पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भयो । ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगरको डुबेर मृत्यु भएको हो । उनीहरूको सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घटना २ : २०७९ फागुन १ गते सुर्खेतमा डुबेर एक बालकको मृत्यु भयो । वीरेन्द्रनगर नगरपालिका–२ देउडाघारी डेरा गरी बस्ने कालिकोट तिलागुफा नगरपालिका–५ घर भएका चन्द्रप्रसाद पाण्डेको छोरा ७ वर्षीय राजन पाण्डेको माछा पोखरीमा डुबेर आइतबार मृत्यु भएको थियो
घटना ३ : २०८० जेठ २७ गते पोखरीमा डुबेर जाजरकोटमा २ जना बालकको मृत्यु भयो । सिँचाइका लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर भेरी नगरपालिका– १३ का नरबहादुर बस्नेतका छोरा ८ वर्षीय पाण्डव बस्नेत र टीकाराम बस्नेतका छोरा ९ वर्षीय प्रमोद बस्नेतको मृत्यु भएको हो ।
उनीहरू दुवै बालक विद्यालयबाट घर आएर खाजा खाएपछि खेल्न गएका थिए । पौडी खेल्न पोखरीमा पुगेका उनीहरूलाई डुबेको देखेपछि स्थानीय र प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएका थिए । तर अस्पतालमा पु¥याउँदा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना ४ : २०७८ मङ्सिर ६ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा न।९ पातलगंगाका तिलक सुनारको छोरा वर्ष २ का एन्जिस सुनारको पानीको नालामा खस्दा डुबेर मृत्यु भयो । खेल्ने क्रममा अचानक नालामा खस्दा घाइते भएका सुनारको उपचारका क्रममा मृत्यु भएको थियो ।
माथि उल्लेखित यी चार प्रतिनिधिमूलक घटना मात्रै हुन् । यस्ता घटना कर्णालीमा हजारौँ सङ्ख्यामा हुने गर्दछन् । एउटै पोखरीमा दुईचार जनासम्म बालबालिकाको एकै पटक मृत्यु हुँदासमेत राज्य बालबालिकाको सुरक्षाका लागि गम्भीर देखिएको छैन । कर्णालीमा नदी, खोला, पोखरी, नाला, खाल्डोमा डुबेर मृत्यु हुनेको सङ्ख्या वर्षेनी बढ्दो क्रममा छ ।
कर्णालीमा तीन आर्थिक वर्षमा १ सय ८६ जनाको पानीमा डुबेर मृत्यु भैसकेको छ । आर्थिक वर्ष २०७७/०७८ मा २३ जना पुरुष, ७ जना महिला, १५ बालक र ७ बालिका गरी ५२ जनाको मृत्यु भएको छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा २९ पुरुष, ६ महिला, ७ बालक र १० बालिका गरी ५२ जनाको मृत्यु भएको छ ।
गत आर्थिक वर्ष २०७९÷०८० मा ४६ पुरुष, ७ जना महिला, २६ बालक र ३ बालिका गरी ८२ जनाको मृत्यु भएको छ । तीन आर्थिक वर्षमा खोलाले बगाएर मात्रै ६५ जनाको मृत्यु भएको छ । जसमा आर्थिक वर्ष २०७७/०७८ मा १९, २०७८/०७९ २० र २०७९/०८० मा २६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पानीमा डुबेर आर्थिक वर्ष २०७७/०७८ मा २३, २०७८/०७९ ३१ र २०७९/०८० मा ४६ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै नदीले बगाएर तीन आर्थिक वर्षमा १८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १०, २०७८/०७९ एक र २०७९/०८० मा ७ जनाको मृत्यु भएको छ । पुल र डुङ्गाबाट खसेर ३ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।
पानीमा डुबेर मृत्यु हुने मुख्य कारणमध्ये पहिलो विपन्न तथा सीमान्तकृत समुदायको जल र जमिनमा पहुँच नहुनु सरोकारवालाहरू बताउँछन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले गर्मी र वर्षाको समयमा धेरैजसोको पानीमा डुबेर मृत्यु हुने गरेको बताए ।
उनले गर्मीमा धेरै बालबालिकाहरू पोखरीमा नुहाउन जाने, खोलामा माछा मार्न जाने र वर्षाको समयमा बाढी आउने खोलानालाले बगाउने भएकोले धेरैजसो घटना यी दुई सिजनमा हुने गरेको जानकारी दिए ।