
रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बाँफिकोट गाउँपालिका वडा नं ७ बास्थलामा पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत प्रदान गरेको छ ।
पहिरोमा परी मृत्यु भएका ४२ वर्षीया धनमाया खत्री र ४८ वर्षीय कालिबहादुर खड्काका नजिकका हकदारलाई दुई लाख रुपैयाँका दरले राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आइतबार घाँस काट्न गएका बेला पहिरोमा परी उनीहरुको मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त नेतृत्वको टोलीले मृतकको घरमा पुगेर राहत वितरण गरेको कार्यालयले जानकारी दिएको छ । बुधबार प्रशासन कार्यालयमा बसेको जिल्ला व्यवस्थापन समितिको बैठकले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुरुप बिहीबार राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्तसहित गाउँपालिका अध्यक्ष जनककुमार बाठा, उपाध्यक्ष ताराबुढा केसी, वडा नं। ७ का अध्यक्ष नरबहादुर खत्रीलगायत जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।