
सुर्खेत । सुर्खेतमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो समय आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको संख्या बढेको सुर्खेत आँखा अस्पतालले जनाएको छ । उक्त आँखा अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी आउने गरेकोमा झण्डै आधा बिरामी आँखा पाक्ने रोगका आउने गरेको सुर्खेत आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डाक्टर आकांक्षा रानाले जानकारी दिइन् ।
उनका अनुसार केही दिनयता सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, सुर्खेत र आसपासका जिल्लामा यो रोग तीव्र रुपमा फैलिरहेको छ । यो सिजनमा एडिना भाइरसका कारण भाइरल इन्फेक्सन भएर यो रोगको संक्रमण फैलिरहेको हो ।
यो रोग विशेषगरी विद्यालयका बालबालिका, शिक्षक, कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने व्यक्तिमा देखिए पनि अन्य सर्वसाधारण नागरिक पनि संक्रमित भइरहेका छन् । धेरै भीडभाड हुने ठाउँमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न भएकाले जनघनत्व अलि बढी भएका स्थानमा भाइरलका रुपमा फैलिएको आँखा रोग विशेषज्ञ बताउँछन्।
प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ । अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि सुर्खेत आँखा अस्पताल लगायत अन्य सरकारी तथा निजी अस्पताल तथा क्लिनिकहरुमा बिरामीको चाप बढेको छ ।
संक्रमणका कारण आँखा रातो हुने बिझाउने, घाममा हेर्न अफ्ठ्यारो हुने लक्षण देखिने र यो सञ्चो हुन केही दिन लाग्ने डाक्टरहरु बताउँछन । यो भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देखिने बित्तिकै अस्पतालमा आउन चिकित्सकले आग्रह गरेका छन् ।