
रवि हमाल, मुगु । मुगु जिल्ला छायाँयानाथ रारा नगरपालिका वडा नम्बर–१२ भिताडकी २६ वर्षकी नानी बिक उपचार गरेर घर फर्किएकी छन् । असार महिनाको अन्तिम साता हात भाँचिए पछि गरिबीको कारण उपचार खर्च नपाउँदा धामी बैजि र स्थानीय उपचार गरी थला परेकी नानी विक अहिले सहयोगी मनहरूको सहयोगले उपचार गरेर घर फर्किएकी हुन् ।
उनी ८ महिनाको गर्भवती छन् । काखमा दुधे बालक राखेर घर फर्केकी हुन् । गरिबी भएको कारण बिहान बेलुका छाक टार्न समेत गाह्रो भएकी बिक ८ महिनाको गर्भ भएकै बेला खेतमा काम गर्न गएको बेला लडेर हात भाँचिँदा थप पिडा भएको थियो । सदरमुकाममा उपचार गर्नको लागि आर्थिक अभाव थियो ।
‘सरकारी जिल्ला अस्पतालमा मुगुले जुम्ला रिफर गरेपछि गोजीमा एक रुपैयाँ पनि थिएन, कसरी उपचार गर्ने अब जीवन भरी अपाङ्ग भएर जिन्दगी बिताउनु भन्दा मर्ने सोचमा थिए’ उनले भनिन्, ‘मेरो दुख पिडा देखेपछि मुगुका पत्रकारहरूले समाचार प्रकाशन गर्नुभएछ ।’
विदेशमा बस्ने मुगाली रारा प्रवास समाजका सदस्य र अन्य नेपाली दाजुभाइ, मेची महाकाली बुहारी अभियान मुगुकी अध्यक्ष सुर्जदेबी मल्लबाट आर्थिक सहयोग हुनुका साथै मुगु जिल्ला अस्पतालका डाक्टर नकुल शाही जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टरले मेरो हातको अप्रेसन चार्ज ईम्वलान्ट चार्ज, अप्रेसन औषधी सबै निःशुल्क गरेका छन् ।
आफूलाई हरेक क्षेत्रबाट सहयोग गर्ने सबै आफ्ना लागि भगवान् सरह भएको उनको भनाइ छ । उनले उपचार पाएपछि नयाँ जन्म लिएको समेत जिकिर गरिन् । अहिले विकको भाँचिएको हातको अपे्रशन सफल भएको छ भने गर्भवती सकुशल भएर काखमा छोरा समेत काखमा च्यापेर घर आएकी छन् । केही दिन आराम गरिसकेपछि हातको रट झिक्ने डाक्टरले जनाएको छ ।
