
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौकुने गाउँपालिकाका स्थानीय २२ वर्षीय छवि साउँद रहेका छन् । उनलाई मंगलवार ईलाका प्रहरी कार्यालय बाबियाचौरले पक्राउ गरेको हो । उनी गत भदौ ३१ चौकुने गाउँपालिका–१ को बडासैनको सुदर्शन प्राथमिक विद्यालयका प्रधानाध्यापक हिरादेवी भण्डारीले र व्यवस्थापन समितिका अध्यक्ष उदय साउँदलाई काट्छु भनेर हसिँया लिएर विद्यालयमा गएका थिए ।
उनी गएको बेला विद्यालयमा औपचारिक कार्यक्रम चलिरहेको थियो । उनले मदिरा सेवन गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकसँग विवाद गर्न थाले । विवाद गर्नेक्रममा उनले प्रधानाध्यापक लगायतलाई काट्दिने भन्दै धम्क्याउँदै थिए । उनी विवाद गरी घर फर्किए। तर केहीबेरपछि उनले हँसिया लिएर आए, र प्रधानाध्यापकको कोठामा प्रवेश गरे । प्रधानाध्यापक हिरादेवी भण्डारीले ती युवकबाट हँसिया खोस्ने प्रयास गरेकी थिइन् ।
त्यसक्रममा युवकले भण्डारीमाथि हातपात समेत गरेका थिए। अहिले उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । पक्राउ परेका युवक र घटनासँग सम्बन्धित पीडितलाई बुधबार मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । प्रधानाध्यापक भण्डारीले पनि जाहेरी दिन जिल्ला प्रहरी कार्यालयमा जाने बताएकी छन् । ती युवकले विद्यालयमा आएर जथाभावी बोल्दै विवाद गर्न थालेपछि आफूले सम्झाउन खोज्दा हतियार प्रहार गर्न खोजेको उनले बताइन्।
साउँदले कार्यालयभित्र पुगेर आफूलाई घाँटीमा समातेर पनि पछारेको भण्डारीले बताइन् । घटना भएपछि साउँद फरार भएका थिए । प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । मंगलबार घटना मिलापत्रमा टुंग्याउने भनेर प्रहरीले बोलाएपछि उनी गाउँ आएका थिए । त्यहीबेला प्रहरीले साउँदलाई पक्राउ गरेको हो । छवि साउँद यसरी आउनुको कारणबारे भने आफूलाई थाहा नभएको विव्यस अध्यक्ष साउँदले बताए। बुधबार प्रहरीले पक्राउ गरेपछि युवकको परिवारबाट धम्की आइरहेको उनले बताए ।
कार्यक्रम भइरहेका बेला मदिरा सेवन गरेर विद्यालय पुगेका ती युवकले ‘विद्यार्थीलाई राम्रोसँग नपढाउने, म तिमीलाई काट्छु’ भन्दै गएपछि भनाभन सुरू भएको चौकुने–१ का वडाध्यक्ष जिरक बडुवालले बताए । ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक विनोद सुवेदीले घटनामा संलग्नलाई पक्राउ गरेर पीडितलाई जाहेरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको बताए ।