
कल्पना हमाल, सुर्खेत । सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमा–छोरीको हत्या भएको पुष्टि भएको छ । गत भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका –२ झालेढुङ्गाकी २९ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो । आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो ।
उनीहरूको हत्या सल्यानको सिद्धकुमाख गाउँपालिका –२ खानीगाउँ घर भएका २८ वर्षीय कर्णबहादुर बस्नेतले गरेको खुलेको छ । उनी वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका थिए र यही भदौ २६ गते मात्र घर फर्किएका थिए । उनको घरमा श्रीमती १ छोरा र १ छोरी छन् । उनलाई प्रहरीले असोज ३ गते सिद्धकुमाख गाउँपालिका–२ ढोरचौरबाट पक्राउ गरेको थियो ।
अभियुक्त कर्णबहादुर बस्नेतको मृतक रेवती थापासँग करिब ७ वर्षअघि नै फेसबुकमार्फत चिनजान भएको थियो । उनीहरूको कुराकानी हुँदै गएको र बिस्तारै उनीहरू गहिरो प्रेम सम्बन्धमा पनि रहेका थिए । प्रेम सम्बन्धसँगै उनीहरू बिच पटक-पटक शारीरिक सम्बन्धपनि भएको र बिहे गर्नेसम्मको सहमति भएको थियो। उनीहरू बिच शारीरिक सम्बन्धका क्रममा सहमतिमै अश्लील भिडियो र फोटाहरू समेत बनाइएको प्रहरी अनुसन्धानमा पत्ता लागेको छ।
गहिरो प्रेम सम्बन्ध चलिरहेकै बखत अभियुक्त बस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबई गए र उनी सन् २०१८ मा दुबई रहेकै बेला मृतक रेवती थापाको सल्यानकै त्रिवेणी गाउँपालिका – २ का सुकलाल थापासँग बिहे भयो । उनले ९ महिना अघि एक छोरीलाई समेत जन्म दिइन । अभियुक्त बस्नेतले भने आफूलाई प्रेममा रेवतीबाट धोका भएको ठान्दै यसलाई ठुलो इगोको रूपमा लिएको देखिन्छ।
कर्णबहादुर विवाहित भए पनि दोस्रो बिहे गर्ने सहमति भएको उनी बताउँछन् । रेवतीले बिहेगरेपनी करिब २ वर्ष अगाडि कर्ण बहादुरसँग फेरि सम्बन्ध स्थापना भएको देखिन्छ । पुरानो इगो र शारीरिक सम्बन्धकै बखत गरिएका अश्लील भिडियो तथा फोटोहरूकै कारण मृतक रेवतीको कर्णबहादुरसँग मनमुटाब भएको देखिन्छ । उनीहरू बिचको भिडियो तथा फोटोहरूकै कारण रेवतीको श्रीमान् शुकलालसँग ठुलै झगडा भएको र उनीहरूको सम्बन्धमा केही समय ठुलै समस्या आएको देखिन्छ ।
पछि सोही विषय बढ्दै जाँदा करिब ८ महिना अगाडि कर्णबहादुर दुबईमा रहेको बेला नेपाल फर्कन साथ हत्या गर्ने योजना बनाएका थिए । करिब ४ महिना अघि हत्या गर्नकैलागि बिदा समेत मागेकोमा उनले बिदा नपाएको देखिन्छ भने गते भदौ २६ गते उनी बिदा लिएर नेपाल फर्किए । हत्या गर्ने योजनाका साथ उनी काठमाडौँबाट उनको घर सल्यान सिद्धकुमाख गाउँपालिका – २ खानीगाउँ फर्केर २ दिन घरमा बसेर योजनाबद्ध रूपमा भदौ २९ गते शनिवार श्रीनगर बजारसम्म गाडीमा आए।
उनले त्यहाँबाट पेट्रोल र सलाई किनेर पैदलै मृतकको गाउँसम्म पुगे । उनी जङ्गलको बाटो हुँदै साँझ करिब ९ः५० बजे मृतक रेवतीको घरमा छिरेर उनलाई कपडाको पासो बनाइ लडाएर पेट्रोल छर्कन्छन। अनि आगो लगाउँदै उनी तड्पिएको हेर्दै बीभत्स हत्या गर्छन् । रेवतीसङ्गै सुतेकी ९ महिने छोरी रितुकोपनि सोही आगोमा परि मृत्यु हुन्छ ।
घटना भइसकेपछि उनी नजिकै कसैको घरमा बास बसेर बिहान सबेरै करिब ३/४ बजे त्यहाँबाट आफ्नो घर फर्किएको देखिन्छ । घटना भदौ २९ गते भएको र स्थानीयले भने प्रहरीलाई ३० गते खबर गरेका थिए । अभियुक्तलाई थप अनुसन्धानको लागि जिल्ला अदालत सल्यानमा लगिएको छ । रेवतीका श्रीमान् शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। श्रीमती र छोरीको हत्याको खबरपछि उनी पनि अहिले घर फर्किएका छन् ।