
सुर्खेत । रुकुम पश्चिमका पत्रकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गरेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ रिठामा शनिवार एक दिन स्वयंसेवकमार्फत जिल्लास्थित पत्रकारहरूले तीन वटा अस्थायी आवास निर्माण गरेका हुन् ।
स्थानीय घमन्डबहादुर चन्द, दीपेन्द्र मल्ल र विमला शाहीको आवास निर्माण गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । काठ, जस्ता लगायतका स्थानीय सामग्रीको प्रयोग गरी अस्थायी आवास निर्माण गरिदिएको उनले बताए ।
उनकाअनुसार दुई वटा दुई–दुई कोठे र एउटा चार वटा कोठा निकाल्न मिल्ने आवास निर्माण गरिएको हो । उक्त ठाउँमा अहिलेसम्म कुनै पनि अस्थायी आवास निर्माण हुन सकेका थिएनन् । सबै भूकम्प प्रभावित पालमुनि बस्दै आएका छन् ।
रिठामा पहिलो पटक अस्थायी आवास निर्माण भएको अध्यक्ष केसीले बताए । घमन्डबहादुर चन्दले घरमा बुढाबुढी मात्र रहेको र अहिलेसम्म अस्थायी आवास गर्न नसिकिएकोमा पत्रकारहरूको टोलीले आवास निर्माण गरिदिएको भन्दै खुसी व्यक्त गरे ।
विपत्तिको घडीमा पत्रकारहरू पनि साथमा छन् भन्ने सन्देश दिनका लागि एक दिनको स्वयंसेवा मार्फत अस्थायी आवास निर्माणमा खटिएको अध्यक्ष केसीको भनाई छ । अस्थायी आवास निर्माणमा २१ जना पत्रकारहरू खटिएका थिए ।