कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको बुलबुले पार्कमा ५ वर्षमा १९ लाखभन्दा बढी पर्यटक आएका छन् । सुर्खेत नगर विकास समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७९/०८० सम्म १९ लाख बढी पर्यटकले बुलबुले पार्क अवलोकन (भ्रमण) गरेका हुन् ।
आर्थिक वर्ष २०७५/०७६ मा करिब १ लाख ८२ हजार ५०, २०७६/०७७ मा ६ लाख ५५ हजार २ सय बढी पर्यटक आएका हुन् । यस्तै २०७७/०७८ मा ५ लाख ५० हजार ५ सय ५०, २०७८/०७९ मा २ लाख ५७ हजार १ सय ३ र २०७९/०८० मा ३ लाख ६ हजार १ सय ७९ गरी कुल १९ लाख ५१ हजार ८१ भन्दा बढी पर्यटक आएका नगर विकास समितिले जनाएको छ ।
नगर विकास समितिका सहायक लोकपाल खड्कबहादुर रानाले पछिल्लो वर्षहरूमा बुलबुलेमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको बताए । उनले बिदाका दिनहरूमा पर्यटकको सङ्ख्या बढी आउने गरेको बताउँदै अझै पार्कलाई व्यवस्थित बनाउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने जानकारी दिए ।
एक करोड बढी राजस्व असुल
नगर विकास समितिले पाँच वर्षमा एक करोड ५० लाख बढी रकम असुल गरेको छ । नगर विकास समितिले पार्क अवलोकन गर्न आउने पर्यटकहरूबाट विभिन्न शीर्षकबाट पाँच वर्षमा एक करोड ५० लाख २३ हजार छ सय ४५ रुपैंया राजस्व सङ्कलन गरेको हो ।
जसमा आर्थिक वर्ष २०७५/०७६ मा १८ लाख ५ लाख ५ सय, २०७६/०७७ मा १६ लाख ५२ हजार, २०७७/०७८ मा १५ लाख ५ हजार ५ सय, २०७८/०७९ मा ४७ लाख ४२ हजार ६० र २०७९/०८० मा ५३ लाख २३ हजार ५ सय ८५ रुपैंया सङ्कलन भएको लेखापाल रानाले जानकारी दिए । उनले आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा कोरोना भाइरस फैलिएकाले पर्यटकको सङ्ख्यामा कमी आएको बताए ।
साथै उक्त वर्षबाट नगर विकास समितिले पर्यटकले अवलोकन गरे बापतको शुल्क बढाएको थियो । हाल नगर विकास समितिले मनोरञ्जन गर्न (भ्रमण गर्न आउने नेपाली व्यक्तिबाट (विद्यार्थी तथा नियमित घाँस काट्ने लक्षित वर्गबाट) १० रुपैयाँ मनोरञ्जन गर्न (भ्रमण गर्न) आउने नेपाली साधारण व्यक्तिबाट २० रुपैयाँ, मनोरञ्जन गर्न (भ्रमण गर्न) आउने विदेशीहरूबाट ५० रुपैयाँ लिने गरेको छ ।
त्यस्तै, विभिन्न कार्यक्रम लिई आउने समूह, संस्थागत ३० जनाभन्दा बढीको सङ्ख्या आएमा ५ सय रुपैयाँ, मोटरसाइकल प्रति एक पार्किङ शुल्क बापत १० रुपैयाँ, अटो प्रति एक पार्किङ शुल्क बापत २० रुपैयाँ, जिप प्रति एक पाकिंङ्ग शुल्क बापत ३५ रुपैयाँ, माइक्रो बस प्रति एक पार्किङ शुल्क बापत ४५ रुपैयाँ र बस, ट्रक, ट्याक्टर, ट्याङ्कर प्रति एक पार्किङ शुल्क बापत ६० रुपैयाँ लिने गरेको छ ।
नाक खुम्च्याउँछन् बुलबुले पार्कमा आउने पर्यटक
बुलबुले पार्क अवलोकन गर्न आउने पर्यटकहरूले नामको मात्रै बुलबुले पार्क भएको गुनासो गर्ने गरेका छन् । तालको अवस्था देखेर उनीहरू नाक खुम्च्याउने गरेको स्थानीय एक व्यक्तिले बताए। शनिवार बर्दियाबाट सुर्खेत बुलबुले पार्क अवलोकन गर्न आएकी ४७ वर्षीया हरिमाया थापाले बुलबुले पार्क सोचे जस्तो व्यवस्थित र रमाइलो गर्ने ठाउँ नभएको बताइन् ।
‘धेरैले बुलबुले भन्छन् हामीले त कस्तो छ होला सोचेर भित्र आयौ भित्र आएपछि रमाइलो गर्ने त्यस्तो केही देखेनौ, बुलबुले ताल भनेर भन्थे तालमा घाँस उम्रिएको रहेछ । यो त नाम मात्रैको बुलबुले ताल रहेछ,’ उनले भनिन् । यस्तै, अर्की दैलेख घर भई हाल सुर्खेत बस्दै आएकी सपना शाहीले बुलबुले पार्क व्यवस्थित नभएको भए पनि युवाहरूका लागि यो पार्क महत्त्वपूर्ण पर्यटकीय स्थल भएको बताइन् ।
‘यहाँ त्यस्तो रमाइलो लाग्ने केही खेल्न मिल्ने खेलहरू त केही छैनन्। तैपनि किन किन यो पार्क सबैले मन पराउँछन्, एक पटक आएर केही राम्रो छैन भन्छन् र ती मान्छे नै फेरि पार्क भित्र जान्छन्,’ उनले भनिन् ‘यसलाई अझै व्यवस्थित बनाउन सकेमा झनै पर्यटकको सङ्ख्या बढ्ने थियो होला।’ नगर विकास समितिका सहायक लेखापाल रानाले बुलबुले पार्कलाई संरक्षण गर्न तीनै तहका सरकार पार्क संरक्षणमा जुट्नुपर्ने बताए ।
उनले खबरदृष्टिसँग कुरा गर्दै बुलबुले पार्कलाई व्यवस्थित बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकार लाग्नुपर्ने बताए । ‘तीन तहका सरकार एकजुट भएर यसलाई व्यवस्थित बनाउन सकिएमा झनै पर्यटकको सङ्ख्या बढ्ने थियो । हामी एक्लैले मात्रै केही हुँदैन, हामीसँग आयस्रोत पनि कमै हुन्छ,’ उनले भने ।
प्रदेश सरकारले बुलबुले पार्कको लागि छुट्टाएको बजेट वन कार्यालय मार्फत आउने हुँदा झनै समस्या भएको गुनासो गरे । उनले भने,‘ बुलबुलेको सम्पूर्ण कार्यक्रम नगर विकास समितिको मार्फत राख्ने, बजेट भने वन कार्यालयलाई दिन्छ, कि त बुलबुलेको सबै जिम्मा उसैलाई दिनुपर्यो। नत्र भने बजेट हाम्रै नगर विकास समितिको खातामा राख्नुपर्छ।’
उनले अबको केही दिनमा बुलबुले ताल समेत सफा हुने जानकारी दिए । ‘सुरुमा तालमा भएका झारहरू फाल्छौँ, त्यसपछि छाते घर प्रतीक्षालयहरू मर्मत गर्छौ, यसले पर्यटकको सङ्ख्या पनि बढ्ला,’ उनले भने। यो समाचार आजेको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।