प्रिय कमरेड मदन,
अभिवादन !
तपाई स्वर्गवास भएको पनि २८ वर्ष पुगिसकेछ । हिजो अस्ति जस्तो लाग्छ तपाईंको त्यो शिंहको जस्तो गर्जन ! अनि सत्तासीन राजा वीरेन्द्रलाई ललकार्दै हिम्मत भए श्रीपेच खोलेर निर्वाचनमा आउन दिएको चुनौती ! अनि साम्राज्यवादी देश भारत र अमेरिकालाई आफ्नो देश विरुद्ध गतिविधि नगर्न दिएको चेतावनी !
नेपालीको गिर्दो स्वाभिमान र रित्तिदै गएको आत्मविश्वासलाई तपाईंले नै हो त्राण दिएको । पंचायती शासनसत्ताले गरेको दमन र थिचोमिचो विरुद्ध कांग्रेससंग सहकार्य गरेर जाने अनि छरपस्ट कम्युनिस्टहरूलाई एकतित्र गर्ने कामको नेतृत्व तपाईले नगरेको भए आज देशमा न प्रजातन्त्र आउथ्यो, न गणतन्त्र नै ! तत्कालीन समयमा कांग्रेसको दम्भ र आत्मकेन्द्रित राजनीतिलाई ‘डिप्लोम्याटिक’ हिसावले परिवर्तन गराउदै गरिएको ०४६ को आन्दोलनले राजतन्त्रको अन्त गरेको थियो ।
तपाईंको दुःखद अन्तपछि परिस्थिति फेरिएको छ कमरेड ! त्यसपछि जनयुद्ध सुरु गराईयो। यहि विचमा देउवाले तपाईंले ल्याएको प्रजातन्त्र राजालाई वुझाए। २०६२÷०६३ को आन्दोलन पश्चात् हाल नेपाल संघीय गणतन्त्रात्मक मुलुक वनेको छ । २०७२ मा संविधान सभावाट नेपालको संविधान जारी गरिएको छ । सोही संविधान वमोजिम तीन तहका सरकारहरुले काम गरिरहेका छन् ।
कमरेड ! परिस्थिति परिवर्तन भैरहदा अनुशासनमा रहेको र तपाईंवाट प्रशिक्षित हाम्रो गौरवशाली संगठनमा गम्भीर समस्याहरु देखिएका छन । नेताहरु व्यक्तिगत स्वार्थमा लागेर पार्टीलाई टुटफुट तिर हिडाएका छन । आफ्नै सरकार विरुद्ध लागेर अर्को पार्टीलाई भोट हाल्ने (फ्लोर क्रस) गर्नु सामान्य भएको छ ।
आफ्ना नातागोता,श्रीमती, भाइ, मामामाईजु, सालासाली, प्रेमिकाहरुलाई राजकीय र पार्टीका पद गिफ्ट जस्तै गरेर बाँडिएको छ । संगठनमा कुनै भूमिका नभएकाहरूलाई राजकीय पदले सुशोभित गरिएको छ । त्यति मात्रै कहाँ होर कमरेड, पैसामा माननीय पद वेचिएको छ । पैसाको वार्गेनिङवाट पदको वाँडफाँड भैरहेको छ ।
सुन्दा नरमाइलो लाग्ला कमरेड ‘वेड सेयर’ गर्न तयार हुनेहरुलाई प्राथमिकतामा राखि अन्य ईमान्दार लगनशील कार्यकर्ताहरुको तेजोवध गरिएको छ । कमिटीले गरेको निर्णय मान्न पार्टीका जिम्मेवार नेताहरु आफै तैयार छैनन । ‘कस्तो पार्टी वनाउने’ भनेर उपदेश दिनेहरुनै आफु सम्मिलित सार्वभौम कमिटीले गरेको निर्णय कुल्चन उत्प्रेरित बनिरहेका छन ।
यस्तो लाग्छ उनीहरू पार्टी नेतृत्वमा पुगेको आफ्ना नातागोता र प्रेमिकाहरुलाई राजनीतिमा स्थापित गरिदिन र आफन्तलाई कमाई खाने वनाईदिन नेतृत्वमा पुगेका हुन । पुराना राजनीति गरेका ईमानदार कार्यकर्ताहरुलाई गुटका नाममा मानमर्दन गरिएको छ । बिभिन्न अवसरहरुबाट इमान्दार कार्यकर्ताहरुलाई वन्चित गरिएको छ । पार्टी यस्तो बनाईएको छ कि, पार्टीको चुनाव चिन्हमा भोट नहाल्नेहरु सामु पार्टी प्रति बफादार कार्यकर्ताहरुले शिर झुकाउनु पर्ने अवस्थाको सिर्जना भएको छ । पार्टी मूल नेतृत्वले गुटका आधारमा अवसरको बाँडफाँड गर्ने गरेका छन । नेतृत्व ‘घुम्ने मेच माथिको अन्धो मान्छे जस्तो’ प्रतित हुन्छ ।
कमरेड ! स्थानीय, प्रदेश र संघको निर्वाचनपछि हाम्रा जनप्रतिनिधिहरुले सरकारी ढुकुटीको व्यापक दुरुपयोग गरेका छन । महङ्गो तारे होटलमा गोष्ठी र तालिमको नाममा करोडौ रकम स्वाहा पारिएको छ । महङ्गो होटलमा गरिने गोष्ठीवाट प्राप्त हुने कमिसनको पोको पनि ठूलै आउछ रे कमरेड! अनि विलपनि आफुले चाहेजतिको गराउन मिल्ने रहेछ !
उनीहरूले राज्यकोषलाई आफ्नै पैतृक सम्पत्ति जस्तो ठानेका छन । ‘मामाको धनमा फुपुको श्राद्ध’ गरिएको छ, कमरेड । गाउँ घरमा कोदो र फापर खाएर गुजारा गरेका हाम्रा कमरेडहरुलाई आज लङग्रेन चामलको भात मिठो लाग्न छोडिसकेको छ । जानी नजानी ब्रेक फास्ट, लन्च,डिनर, हाईटि भन्न सिकेका हाम्रा नेताहरुलाई रुवाको डसनामा निन्द्रा आउन छोडिसकेको छ । महङ्गो विदेशी म्याट्रेस र वातानुकुलित शयन कक्षमा रहनु उनीहरूको आदत वनिसकेको छ ।
विगतमा साईकल समेत नदेखेका हाम्रा कमरेडहरुलाई वातानुकुलित गाडी चाहिएको छ । सार्वजनिक यातायातको साधनमा सोझा जनताहरु (उनीहरूको भाषामा गवारहरु) चढ्ने गरेकोले त्यो सेवा उनीहरुलाई ‘अमन’ परेको छ । विदेशीसंग आत्मसम्मान वेचेर भीख मागेर ल्याएको पैसाले खरिद गरेको उच्चस्तरको सेवा र सुविधा प्रयोग गरि उनीहरुले हामीलाई ’वर्ग संघर्ष र विधि विधान’ को पाठ पढाइरहेका छन ।
कमरेड ! वेथिति र वेदना कति सुनाउ । कम्युनिस्टहरुले सामुहिक उत्पादन र उत्पादित वस्तुहरुलाई सामुहिक वितरणको व्यवस्थामा जोड दिन्छन् भनेर एउटा प्रशिक्षणमा हजुरले सुनाएको मैले अझै सम्झिरहेको छु । तर, यहाँ त्यस्तो छैन, आजकल व्यक्तिगत कमाई र कार्यकर्तामाथिको शोषण गर्ने परिपार्टीको विकास भैरहेको छ ।
अस्ति भर्खर एउटा गोष्ठीको विल मात्रै ३० लाख वढी आएछ, कमरेड । के जाति भाईरल र फ्लुले जाजरकोट , कालिकोट लगायतका ठाउँमा धेरै जनताहरु मरेको समाचार सुन्नमा आएको थियो । खान नपाएको कारण मर्ने मानिसको संख्या भएको हाम्रो देशमा नेताहरूलाई भ्रष्टाचार गरि कमाएको सम्पत्तिले अपच वनाएको छ ।
हाम्रो देशका बाटाघाटा राम्रा छैनन । जम्मै भ्रष्टाचार र कमिसनमा वनेकाले वनाएको भोलिपल्टैबाट पिच उप्किन सुरु हुन्छ । वाढीपीडित र सुकुम्बासीहरुको अवस्था विजोग छ । उनीहरुले आफ्नो पालमा जीवन कटाएका छन ।
धुर्मुस सुन्तलीले सयौको संख्यामा घरहरु बनाइसक्दा राज्य संयन्त्र चिर निन्द्रामा सुतेको छ । खेतवारी वाँझा छन, काम गर्ने युवाहरु विदेशमा पलायन भएका छन । परिवारसंगै वस्न नपाउदा कैयौं परिवार विखण्डनको चपेटामा छन । श्रीमान विदेशमा हुँदा श्रीमतीले सम्पत्ती स्वाहा पारेको घटना कति छन कति । युवा पलायन रोक्ने कुनै योजना छैन । वुढा बाबा आमा मर्दा छोरो मलामी वन्न पाउने अवस्था छैन ।
गाउँ घरतिर पहिले पालिने गाई भैंसी र वाख्रा खसी देखिनै छाडेका छन । गाई भैंसी र वाख्रा कराउने गाँउ आज स्याल कराउनेमा परिणत भएको छ । लटरम्म भएर पहेलै फुल्ने तोरी बारीमा आजकाल बुक्की झार उम्रेको छ । गाउँ घरतिर रातको समयमा वृद्ध वृद्धाहरुको एकोहोरो खोकाई र बाल बच्चाको रुवाई मात्रै सुनिन्छ । यस्तो लाग्छ, हाम्रो गाउँ अशक्त र असहायहरुको क्याम्प वनेको छ ।
युवा जमात देशको अवस्थावाट निराश भै लागुऔषध सेवन गर्ने र वाँकी अन्य डिप्रेशनमा फसेको छ । उनीहरुका लागि रोजगारी छैन, उज्यालो भविष्यको कहिकतै किरण देखिदैन। चारैतिर अध्यारो , निराशा, कुण्ठा र अविश्वास मात्रै देखिन्छ । हामीले भन्ने गरेको बर्ग सत्रुसंग साँझपख हाम्रा नेताहरु ‘ककटेल पाटी’मा मस्त देखिन्छन् । आफ्नै पार्टीको सरकार हटाई विरोधी पार्टीलाई सरकारमा पु¥याईरहेका छन् ।
यो पटकको निर्वाचनदेखि पल्लाघरे साईलासंग मेरो वोलचाल छैन। उ कांग्रेस थियोे, म कम्युनिस्ट! मलाई हाम्रा नेताले उ हाम्रो वर्गको नभएकोले उसंग मित्रता आवश्यक छैन भन्ने सिकाए। मैले उसंग मित्रता राखिन । तर, निर्वाचनमा हामीले जीवनमरणको लडाइँ गरि जिताएका हाम्रा कमरेड ’विश्वास’ले मलाई घात गरि ‘राजनीतिक ब्यालेन्स’ गर्ने भन्दैे उनलाई जागिरे हुन सघाए रे !
गाउँकै सामन्त नेपालले चुनावको वेला हाम्रा कमरेडलाई अध्यक्षमा हराउन ठुलो पैसा खर्च गरेका थिए । वाटोमा भेटे मार्ने भनेर गौडा वसेको उनलाई म लगायतका साथीहरुले आफ्नो ज्यान हत्केलामा राखेर वचाएका थियौ । आज उनीहरू वीचमा ठूलो दोस्ती छ। गाँउमा वन्ने रोडको ठेक्कामा उनीहरू वीच ‘फिप्टी फिप्टी’ पार्टनरसिप छ रे ! पालिकाका सवै ठेक्का उनैले हात पारेका छन् ।
उनले लिएको ठेक्कामा हाम्रा कामरेडहरुले लेवर काम पनि पाउदैन। उनले आफ्ना मान्छेले काम गर्न सकेनन भने मात्रै हामीले अवसर पाउने हो। सवै काम डोजरले गर्ने भएकोले मानिस नगण्य मात्रामा काम पाउँछन् ।
अस्ति दुईवटा डोजर यतै मेरो घर हुँदै पारी गाउँ जाँदै थियो। त्यो चाहिँ यहि मेरो ’गुमनाम’ गाउँपालिकाको अध्यक्षले किनेका रहेछन्। हाम्रा कामरेड अध्यक्षले अघिल्लो साल विकास गरी वचाएको पैसाले किनेका रे !
निर्वाचनको वेला उनै सामन्त नेपाल भन्ने ठेकेदारले हाम्रा अध्यक्षलाई गौडा वसेर मार्न लाग्दा आफ्नो ज्यान हत्केलोमा राखी वचाएका कमरेड सीतल हिजो भन्दै थिए, कमिसनको कुरा मसंग गर्न नसकेर उता उनैको पसलबाट महङ्गो मुल्यमा गाउँ पालिकालाई चाहिने सामान खरीद गर्ने वार्षिक सम्झौता गरे रे !
यस्तै छ कमरेड यताको खवर। कति विलौना गरौ । अहिले यता पार्टी र कम्युनिस्ट व्यवस्था नै धरासायी वनेको छ । सत्तापक्ष र विपक्षी एउटै पार्टी वनेको छ। कम्युनिस्ट आन्दोलन र विचार पैसामा विक्री भैरहेको छ । अन्याय र अत्याचारले डाँडो काटेको छ । नेतृत्व विकृत वनेको छ । योजनाविहीन लठैतहरुको झुण्ड जस्तै बनेका छन, तपाइँले वनाएर छोडेका कमिटीहरु !
पार्टी संगठन व्यक्तिगत नाफा आर्जन उपार्जन गर्ने माध्यम बनेका छन । तपाईंले सिकाएको वर्ग संघर्षको सिद्धान्तको प्रयोग अब आफ्नै नेताहरु विरुद्ध प्रयोग गर्नुपर्ने वेला आएको छ । एकपटक फेरि आफ्नै नेता विरुद्ध विद्रोह गर्दै अधिकार प्राप्तिका लागि सशक्त आवाज उठाउनु पर्ने वेला आएको छ । हाम्रा लागि वर्ग दुस्मन अरु कोही नभएर हाम्रै नेतृत्व भएको छ ।
अन्तमा, मनको वेदना कस्लाई सुनाउ ? कोही सुन्ने भएन । त्यसकारण तपाईं कमरेड मदन भण्डारीलाई पत्र लेखेका हुँ । जान अन्जानमा केहि गल्ती भए माफी चाहान्छु । अभिवादन कमरेड मदन !
तपाईंको उहि
कमरेड जलन, सुर्खेत
२०७८÷०४÷०६