२०८३ जेठ १९ , मंगलबार

फाइनल भिडन्तअघि कप्तानहरू भन्छन् – जसले जिते पनि नायक नेपाली खेलाडी नै बनुन्



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच रोमाञ्चक भिडन्त हुँदैछ । फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि जित्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनल खेलका लागि विशेष योजना बनाएको छैन भन्दै अभ्यास खेललाई जत्तिकै महत्त्व दिएको बताए । ‘मेरो लागि सबै खेल बराबर हो । फाइनल खेल जसले जिते पनि नायक नेपाली खेलाडी नै बनुन् भन्ने मेरो चाहना छ’ उनले पत्रकार सम्मेलनमा भने ।

शतप्रतिशत दिन तयार छौँ’ – दीपेन्द्र सिंह ऐरी
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो टोली उपाधि भिडन्तका लागि तयार रहेको बताए । ”फाइनल खेलका लागि विशेष योजना केही छैन ।” उनले भने । तर, खेलाडीहरूले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने उनले आत्मविश्वास व्यक्त गरे । एनपीएलले उद्घाटनदेखि नै हजारौँ दर्शकलाई आकर्षित गर्दै आएको छ ।

फाइनल खेलमा झन् ठूलो सङ्ख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ । रोमाञ्चक खेलको प्रतीक्षामा रहेका नेपाली क्रिकेट प्रेमीहरूलाई यो फाइनल खेलले अविस्मरणीय अनुभव दिने निश्चित छ ।

प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार