जगदिश शाही
नवलपुर । गैंडाकोट नगरपालिका–१४ भागराबाट हराएका साढे दुई वर्षीय बालक शिवान तामाङ करिब ५० घण्टापछि शंखदेवी सामुदायिक वनबाट सकुशल उद्धार भएका छन्।
भदौ २ गते बिहानदेखि हराएका शिवानको खोजीमा प्रहरी तथा स्थानीयवासी निरन्तर खटिएका थिए। बालककी हजुरआमा हेमा कुमारी आले च्याउ टिप्न जंगल गएका बेला शिवान पनि पछिपछि गएको र त्यसपछि हराएको बताइएको छ। बालक हराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। स्थानीयवासीसमेत खोजी अभियानमा सहभागी भएका थिए।
करिब दुई दिनसम्म खोजी गर्दा पनि बालक फेला नपरेपछि जंगलको थप भित्री क्षेत्रमा खोजी तीव्र पारिएको थियो। अन्ततः भदौ ४ गते बिहान करिब १० बजे गैंडाकोट–१४ स्थित भागर खोलाको सिरान क्षेत्रमा बालक फेला परेका हुन्। इलाका प्रहरी कार्यालय गैँडाकोटका डीएसपी अनिल पण्डितका अनुसार, करिब ५० घण्टाको निरन्तर खोजीपछि जंगलभित्रबाट बालक रोइरहेको आवाज सुनिएको थियो। सोही आवाज पछ्याउँदै प्रहरी तथा स्थानीयवासी बालकसम्म पुगेका थिए।
उद्धार गर्दा बालकको अनुहारमा सामान्य चोटपटक देखिएको प्रहरीले जनाएको छ। लामो समय जंगलमा हराए पनि बालक सकुशल भेटिएपछि परिवार तथा खोजीमा खटिएका स्थानीयवासी र सुरक्षाकर्मीले ठूलो राहत महसुस गरेका छन्। बालकका आमाबुवा रोजगारीका क्रममा भारतमा रहेको र शिवान हजुरआमासँग बस्दै आएको बताइएको छ। करिब ५० घण्टासम्म घना जंगलमा हराएका बालक सकुशल भेटिनु परिवारका लागि ठूलो राहत बनेको छ।