सुर्खेत। गएराति वीरेन्द्रनगरमा बुलेट मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भएर हाल वीरेन्द्रनगर नगरपालिका(१०, बुदबुदेमा बस्दै आएका २७ वर्षीय विवेक थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार, पैदलयात्री थापाको टाउकोमा गम्भीर चोट लागेको थियो।
गएराति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले थापा दम्पतीलाई ठक्कर दिएको थियो।
ठक्करबाट विवेककी २९ वर्षीया श्रीमती सुनिता थापा घाइते भएकी छिन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
यस्तै, मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका(१०, का २२ वर्षीय दिपेश चौधरी स्वयम् पनि घाइते भएको प्रवक्ता बोहोराले बताए।
‘मृत्यु भएका विवेकसहित सबैलाई घाइते अवस्थामा तत्काल कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको थियो,’ प्रहरी प्रवक्ता बोहोराले भने, ‘थापालाई थप उपचारार्थ राति नै नेपालगन्ज रिफर गरिएको थियो। तर बाटोमै मृत्यु भयो।’
उनको शव अहिले अस्पतालको शवगृहमा राखिएको छ भने बाँकी दुई जना घाइतेलाई थप उपचारका लापि नेपालगन्जतर्फ लगिएको छ।