
वीरेन्द्रनगर १ को धारापानीमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा गरिव तथा बिपन्न विरामीहरुको भीड लाग्न थालेको छ । दैनिक सरदर १ सय ३० देखि १ सय ४० जनासम्म आउने गरेकोमा गत साउनमा मात्रै २ हजार ४ सय विरामीले सेवा लिएका थिए ।
सबै औंषधी र उपचार निशुल्क वितरण गर्ने गरिएको स्वास्थ्य केन्द्रका प्रमुख उदयबहादुर थापाले जानकारी दिए । थापाले स्थानीय व्यक्तिहरुले स्वास्थ्य उपचारको सेवा लिईरहेको वताए ।
सेवा केन्द्रले ल्याव नहुँदापनि डेंगु र मलेरिया जस्ता रोगको पनि किटबाट परिक्षण गरी उपचार गर्ने गरिएको जानकारी दिए ।
विरामीहरुमा स्थानीय दलित समुदायका व्यक्तिहरु बढि हुने गरेको थापाको भनाइ छ । छाला, सुगर प्रेसर, ज्वरो, घाउ खटिरा, ड्रेसिङ, सेतोपानी बग्ने, चिलाउने ( यौनरोग), केटाकेटीहरुमा लुतो खटिरा, खोकी र आँखा पाक्ने जस्ता रोगहरु देखिने गरेको उनको भनाइ छ ।
“उपचारका लागि ५०% दलितहरु आउने गरेका छन । दलितबाहेक पनि धेरैजसो बिपन्न व्यक्तिहरुलाई उपचार गरिरहेका छौ,“ थापाले भने । गर्भवती जाँच र सुत्केरी जाँच घरमै पुगेर गर्ने गरिएको जानकारी दिदै थापाले १२ विरामी जाँच गर्दा २ जनामा कडा कुपोषण र २ जना मध्यम कुपोषण देखिएको उनले वताए ।
स्वास्थ्य सेवा केन्द्रमा आउने बच्चाहरुमा पनि कुपोषणको समस्या देखिने गरेको छ । जन्मेको ६ महिना देखि ५ बर्ष मुनिका ३९ बालबालिका जाँच गर्दा ३ जनामा मध्यम र २ जनामा कडा कुपोषण देखिएको केन्द्रले जनाएको छ । श्रमिक बर्गमा बढि कुपोषण देखिएको केन्द्र प्रमुख थापाको भनाइ छ ।
“केन्द्रमा दुईवटा भवन भएकोले भवनको भने समस्या छैन । कर्मचारी अभाव भने टड्कारो छ । बिरामी बढ्दा छिटो सेवा दिन असजिलो भएको । विरामीका लागि प्रतिक्षालय छैन, पानीको अभाव छ,“ थापाले भने ।
गरिब समुदायको वीचमा रहेको स्वास्थ्य सेवा केन्द्रमा उपलब्ध नभएका औंषधीहरु निक्कै गरिव तथा विपन्नहरुका लागि आफुहरुले किनेर ल्याईदिने गरेको प्रमुख थापाले दाबी गरे । “औंषधी किन्ने सामथ्र्य नभएकाहरुका लागि हामीले नै किनेर ल्याईदिने गरेका छौ,“ थापाले भने ।
स्वास्थ्य सेवा संचालन तथा व्यवस्थापनका लागि ७ जनाको संचालक समिति बनाईएको छ । जसको अध्यक्षमा वीरेन्द्रनगर १ का वडा अध्यक्ष दिनेश खत्री रहेका छन । उपाध्यक्षमा मनमाया विक र सदस्यहरुमा सुवर्णदेव गिरी, देउरुपा शाही, भिमवहादुर विक, टीका अधिकारी र सदस्य सचिवमा उदयबहादुर थापा क्षेत्री रहेका छन । स्वास्थ्य सेवा केन्द्रमा अहिले ५ जना कर्मचारीहरु कार्यरत छन ।