२०८३ कात्तिक ३० , आइतबार

मुगुमा रारा जाँदै गरेको हाइलक्स दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते



जगदिश शाही

मुगु।मुगुको छायाँनाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा सडकखण्डमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार अपराह्न करिब ४ः३० बजे बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्।

त्यस्तै, दुर्घटनामा ललितपुर निवासी ५८ वर्षीय गाडी चालक कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्‍याइएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गाडीमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय मुगु र ताल्चाबाट प्रहरी टोली घटनास्थलमा खटिएर उद्धार गरेको थियो।

दुर्घटनामा तीन जनालाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। घाइते दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी सूचना अधिकारी प्रहरी निरीक्षक पदमबहादुर खत्रीका अनुसार गाडी दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते आइतबार