जगदिश शाही
सुर्खेत । सामाजिक सञ्जालमा चर्चित आयुष सिंह ठकुरी र उनकी श्रीमती एलिजे जमालीलाई शनिबार सुर्खेतमा आफन्त तथा शुभेच्छुकले आत्मीय स्वागत गरेका छन्।

पारिवारिक भेटघाटका लागि सुर्खेत आएका उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–३ स्थित आयुषकी फुपू गंगा रोकायाको घरमा परिवारका सदस्यले रातो टीका र खादा लगाएर स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा नेपाली कांग्रेस वीरेन्द्रनगर नगरपालिका–३ की वडा सभापति सरस्वती थापा रोकाया, कोपिला भ्यालीका सहसंस्थापक तथा व्यवस्थापकीय निर्देशक एवं आयुषका आफन्त टोपबहादुर मल्ल, गंगा रोकायालगायत सहभागी थिए। शान्तासहित अन्य आफन्त तथा शुभेच्छुकले पनि उनीहरूलाई स्वागत गरेका थिए।

परिवारले देखाएको माया र सम्मानबाट एलिजे भावुक बनेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू विवाह गरेर परिवारमा आउँदा यसरी विशेष स्वागत नपाएको स्मरण गर्दै यसपटक आयुषसँगै आफूलाई पनि परिवारले उत्तिकै माया र सम्मानका साथ स्वागत गर्दा खुसी लागेको उल्लेख गरेकी छन्।

भेटघाटमा सहभागी सरस्वती थापा रोकायाले पनि उनीहरूसँगको आत्मीय भेटप्रति खुसी व्यक्त गरेकी छन्। फरक देश, भाषा, संस्कार र रहनसहन भए पनि आपसी आत्मीयता र सम्मानले सम्बन्धलाई नजिक बनाउने उनको भनाइ छ।
फरक धार्मिक तथा सांस्कृतिक पृष्ठभूमि भए पनि एलिजेले आयुषको हिन्दू धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दै आएकी छन्। यसअघि दशैंका अवसरमा आयुषको हातबाट रातो टीका र जमरा लगाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीहरूको सांस्कृतिक सद्भावको चर्चा भएको थियो।

परिवारको विशेष स्वागत र एलिजेको प्रतिक्रियाले फरक सांस्कृतिक पृष्ठभूमिका मानिसबीचको आपसी माया, सम्मान र आत्मीयतालाई उजागर गरेको छ।