जगदिश शाही
जुम्ला । खस भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जुम्लाको सिंजा गाउँपालिकामा पहिलोपटक खस भाषाको खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ।
प्रगतिशील लेखक संघ (प्रलेस) जुम्ला र सिंजा गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर १५ गतेदेखि गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र नराकोटमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्रगतिशील लेखक संघ जुम्लाका अध्यक्ष रणबहादुर रावतका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक कवि तथा साहित्यकारले मंसिर १० गतेसम्म आफ्नो कविता पठाउन सक्नेछन्। प्राप्त कवितामध्ये छनोट भएका कविताको वाचन प्रतियोगिता मंसिर २० गते आयोजना गरिनेछ।
प्रतियोगितामार्फत सिंजाको ऐतिहासिक खस सभ्यता, भाषा, साहित्य र सांस्कृतिक पहिचानको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताएका छन्।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ६ हजार र तृतीय हुनेले ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट १० कवितालाई समेत प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी सबै कविका कविता प्रगतिशील लेखक संघ जुम्लाद्वारा प्रकाशित स्मारिकामा समेटिने आयोजकले जनाएको छ।
खस भाषाको ऐतिहासिक उद्गमस्थलका रूपमा परिचित सिंजामा हुन लागेको यस प्रतियोगिताले खस भाषामा साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तामा भाषा, साहित्य र संस्कृतिप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।