२०८३ कात्तिक ३० , आइतबार

दाङमा पेट्रोल छर्केर आगो लगाइएका पुरुषको मृत्यु, छिमेकी पक्राउ



जगदिश शाही

दाङ । दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ निवासी ४९ वर्षीय रुपलाल चौधरी रहेका छन् । उनको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

प्रहरीका अनुसार शनिबार दिउँसो चौधरीका छिमेकी ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए ।

घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका–५ स्थित रातोडाँडाबाट नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते आइतबार