२०८३ कात्तिक २९ , शनिबार

चितुवाको छालासहित दुई जना पक्राउ



जगदिश शाही

कैलाली । कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४ स्थित नयनराम होटल नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाजुराको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ की ४७ वर्षीया सीता देवी चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरू शङ्कास्पद अवस्थामा हिँडिरहेको देखेपछि जाँच गरिएको थियो। सोही क्रममा उनीहरूको साथबाट चितुवाको एउटा छाला फेला परेको हो।

बरामद गरिएको चितुवाको छालासहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शुक्रबार