जगदिश शाही
सुर्खेत । नेकपा एमाले सुर्खेतले आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलालाई उपलब्धिमूलक, प्रभावकारी तथा परिणाममुखी बनाउन सुझाव र परामर्श संकलनका लागि छलफल तथा बैठक सुरु गरेको छ।
राष्ट्रिय भेलाको तयारीलाई लक्षित गर्दै एमाले सुर्खेतले जिल्ला तहका नेता तथा कार्यकर्तासँग छलफल अघि बढाएको हो। भेलालाई केवल औपचारिकतामा सीमित नराखी पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा र रणनीतिका विषयमा सार्थक छलफल गर्ने उद्देश्यले सुझाव संकलनको प्रक्रिया सुरु गरिएको जनाइएको छ।
जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतको प्रमुख आतिथ्यता रहेको छ। त्यस्तै, पार्टीकी केन्द्रीय सदस्य मोहनमाया ढकालको विशेष आतिथ्यता रहेको छ।
बैठकमा राष्ट्रिय भेलालाई प्रभावकारी बनाउन आवश्यक तयारी, पार्टीको संगठनात्मक अवस्था, जिल्ला तथा स्थानीय तहमा देखिएका समस्या, पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउने उपायलगायतका विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी, राष्ट्रिय भेलामा जिल्लाबाट प्रस्तुत गर्नुपर्ने विषयवस्तु, पार्टीको आगामी राजनीतिक तथा सांगठनिक रणनीति र कार्यकर्ताका सुझावलाई कसरी समेट्ने भन्ने विषयमा समेत परामर्श संकलन गरिने जनाइएको छ।
राष्ट्रिय भेलालाई पार्टीको आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्न जिल्ला तहबाट प्राप्त सुझाव, धारणा र अनुभवलाई महत्वपूर्ण रूपमा लिइएको छ। यसका लागि एमाले सुर्खेतले छलफल तथा परामर्शलाई प्राथमिकता दिँदै आवश्यक तयारी अघि बढाएको छ।