२०८३ कात्तिक २५ , मंगलबार

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन



जगदिश शाही

काठमाडौँ । गृह मन्त्रालयले तिहारका अवसरमा खेलिने परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रमार्फत यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो सञ्चालन गर्न भनिएको छ।

निर्देशनमा देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने उल्लेख छ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।

त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने खालका अश्लील गीत, सङ्गीत, नृत्य तथा नारा प्रयोग नगर्न आग्रह गरिएको छ।

चाडपर्वका नाममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २५ गते मंगलबार