जगदिश शाही
दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहारबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
प्राप्त विवरणअनुसार घटनामा अन्दाजी ४५ देखि ५० वर्षीया बबी पुनको मृत्यु भएको हो। हँसिया प्रहारबाट घाइते भएकामध्ये अन्दाजी ३५ वर्षीया मैसरा पुनको एउटा हात काटिएको र अर्को हातमा समेत गम्भीर चोट लागेको बताइएको छ।
अन्य घाइतेमा मृतककी अन्दाजी १५ देखि १७ वर्षीया छोरी तिला पुनसहित तीन जना रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा अन्दाजी ३५ देखि ३७ वर्षीय बजिर रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरूलाई एम्बुलेन्समार्फत थप उपचारका लागि सुर्खेत पठाइएको छ भने मृतकको शव पोस्टमार्टमका लागि दुल्लु पठाउने तयारी भइरहेको छ।
घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।