जगदिश शाही
सुर्खेत । लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगरबाट खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाको साथबाट सशस्त्र प्रहरी बलसँग सम्बन्धित परिचयपत्र तथा नियुक्तिसम्बन्धी कागजातसमेत फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरोकोटेश्वर, काठमाडौंले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साल कात्तिक २० गते वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरी टोलीले सुरुमा रुपेश घर्ती मगरसहित दुई जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। थप अनुसन्धानका क्रममा नवराज चालिसे र बालाराम पौडेललाई समेत ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनाबाट जम्मा १२.०२० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरिएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ का २३ वर्षीय रुपेश घर्ती मगर र २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वीरेन्द्रनगर नगरपालिका–१२ का ३१ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन्।
प्रहरीको प्रेस विज्ञप्तिमा पक्राउ परेका नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र र रुपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिसम्बन्धी प्रमाणपत्र फेला परेको उल्लेख छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।