विक्रम कुमार वि.क.
कात्तिक १८, सुर्खेत
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बाट दानबहादुर कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई आइजिपी बनाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आइजिपी कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आइजिपी बनाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
एआइजी मनोज केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन्।
पछिल्लो समय नेपाल प्रहरीमा कार्की र केसीबीच टकराव चलिरहेको थियो। सरकारले कार्कीलाई हटाउन खोजेको भन्ने समाचारहरू समेत बाहिरिएका थिए। उक्त समाचार बाहिरिएपछि स्रोत खोज्दै प्रहरी नेपाल प्रेसलगायत सञ्चार माध्यमहरूमा समेत पुगेर पत्रकारहरूलाई पक्राउ गरेको थियो।
त्यसको अघिल्लो दिनमात्रै आइजिपी कार्कीले पिसिसी बैठक बोलाएका थिए। उक्त बैठक पछि जारी गरिएको विज्ञप्तिमा आइजिपीको राजीनामा मागिएको भन्ने विषयलाई खण्डन गरिएको थियो।