कालिकोट ।कर्णालीकी एक चर्चित देउडा गायिकाको नाबालिग अवस्थाको निजी भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा कालिकोटका कलाकार खगेन्द्र न्यौपाने पक्राउ परेका छन्।
कालिकोटको तिलागुफा नगरपालिका–३ निवासी ३७ वर्षीय न्यौपानेलाई काठमाडौं प्रहरी र जिल्ला प्रहरी कार्यालय कालिकोटको संयुक्त टोलीले काठमाडौंस्थित डेराबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वर्मा यादवका अनुसार गायिकाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। पीडितले बिहीबार साइबर अपराधसम्बन्धी जाहेरी दिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सामाजिक सञ्जालमा फैलाइएको भनिएको भिडिओ पुरानो रहेको खुलेको छ। उक्त समयमा गायिका १७ वर्षकी अर्थात् नाबालिग थिइन्।
गायिकाले आफू नाबालिग अवस्थामा रहँदा बालमनोविज्ञानको दुरुपयोग गरी भिडिओ कलमार्फत ललाईफकाई निजी भिडिओ तयार पारिएको दाबी गरेकी छन्। पछिल्लो समय उक्त भिडिओ सामाजिक सञ्जालमा फैलाइएपछि आफू गम्भीर मानसिक तनावमा परेको र आफ्नो कलाकारिता तथा भविष्य समाप्त पार्ने उद्देश्यले यस्तो गतिविधि गरिएको उनको आरोप छ।
पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि कालिकोट ल्याइएको छ। घटनाबारे विस्तृत जानकारी अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
यसैबीच प्रहरीले घटनासँग सम्बन्धित भिडिओ फेसबुक, मेसेन्जरलगायत सामाजिक सञ्जालमा डाउनलोड गर्ने, स्क्रिन रेकर्ड गर्ने, ट्याग गर्ने, शेयर गर्ने वा अन्य माध्यमबाट पुनःप्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
पीडितको गोपनीयता र सम्मानमा थप असर पुग्ने गरी भिडिओ फैलाउने वा सार्वजनिक गर्ने कार्यमा संलग्न व्यक्तिमाथि समेत प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट सार्वजनिक नैतिकताविरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको गोपनीयताको सम्मान गर्न र कुनै पनि आपत्तिजनक सामग्री शेयर नगर्न अनुरोध गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।