२०८३ कात्तिक १७ , सोमबार

अब सुर्खेतबाटै विदेशमा सामान पठाउन सकिने, गन्तव्य कुरिएरको सेवा विस्तार



जगदिश शाही

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर र कार्गो सेवा उपलब्ध हुन थालेको छ। गन्तव्य कुरिएर सर्भिस प्रालिले सुर्खेतमा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिक तथा व्यवसायीलाई स्वदेश र विदेशमा कागजात, पार्सल तथा अन्य सामग्री पठाउन सहज हुने भएको छ।

वीरेन्द्रनगर नगरपालिका–१०, बसपार्क क्षेत्रमा स्थापना गरिएको शाखाको आइतबार कम्पनीका निर्देशक तिलक केसीले उद्घाटन गरेका हुन् । शाखा सञ्चालनसँगै कुरिएर सेवाका लागि अन्य सहरमा निर्भर रहनुपर्ने सेवाग्राहीलाई स्थानीयस्तरमै सेवा प्राप्त गर्ने विकल्प थपिएको छ।

शाखा उद्घाटनका क्रममा निर्देशक केसीले सुर्खेतबाट सेवा विस्तार गर्नुको उद्देश्य स्थानीय नागरिक तथा व्यवसायीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कुरिएर सेवासँग सहज रूपमा जोड्नु रहेको बताए । ग्राहकलाई छिटो, सुरक्षित र झन्झटरहित सेवा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले आफ्नो सेवा सञ्जाल विस्तार गरिरहेको उनको भनाइ छ ।

केसीले आगामी दिनमा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै घरदैलोबाटै सामान संकलन गर्ने व्यवस्थालाई समेत प्राथमिकता दिइने जानकारी दिए ।

सुर्खेत शाखाका प्रबन्धक रमेश लामिछानेले स्थानीय आवश्यकता र सेवाग्राहीको मागअनुसार सेवा सञ्चालन गरिने बताए । विशेषगरी विदेशमा रहेका आफन्तलाई सामान पठाउन चाहने नागरिक तथा व्यापारिक प्रयोजनका सामग्री ओसारपसार गर्ने व्यवसायीलाई सेवा उपलब्ध गराउन शाखाले सहजीकरण गर्ने उनले उल्लेख गरे ।

कम्पनीका अनुसार नेपालबाट जापान, दक्षिण कोरिया, अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, युरोप तथा खाडी मुलुकलगायत विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा प्रदान गरिँदै आएको छ।

सुर्खेतमा शाखा सञ्चालनमा आएसँगै कर्णालीका नागरिकलाई अन्तर्राष्ट्रिय कुरिएर सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका सामग्री देश–विदेशमा पठाउनुपर्ने सेवाग्राहीका लागि यसले थप सहजता प्रदान गर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार