२०८३ कात्तिक १५ , शनिबार

मन्त्री खड्काद्वारा सुर्खेतका उद्योग तथा कृषि फर्मको अनुगमन



जगदिश  शाही
सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले सुर्खेतका विभिन्न उद्योग तथा कृषि फर्महरूको स्थलगत अनुगमन गरेकी छन् ।

प्रदेशमा उद्योग, कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै लगानीको वातावरण तथा रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले मन्त्री खड्काले उद्योग तथा कृषि फर्महरूको अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा मन्त्री खड्काले गुर्भाकोट नगरपालिका–१०, घुमखहरेस्थित युयुआन बायोटेक्नोलोजी प्रालि  र भेरीगंगा नगरपालिका–९, जहरेबजारस्थित मेरी कर्णाली कृषि तथा पशु विकास फर्म एवं कृषि उपज भण्डारण तथा प्रशोधन केन्द्रको स्थलगत अवलोकन गरेकी छन् ।

सो अवसरमा उनले उद्योग तथा फर्महरूको उत्पादन अवस्था, सञ्चालन प्रक्रिया, व्यवस्थापकीय पक्ष, भण्डारण तथा प्रशोधन क्षमता, रोजगारी सिर्जनामा पुर्‍याएको योगदान र आगामी व्यावसायिक सम्भावनाबारे जानकारी लिइन् ।

अनुगमनका क्रममा मन्त्री खड्काले स्थानीय स्रोतसाधनको उपयोग गर्दै उत्पादनमूलक उद्योग तथा कृषि व्यवसायलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। कृषि उपजको उत्पादनसँगै उचित भण्डारण, प्रशोधन र बजारीकरणको व्यवस्था गर्न सके स्थानीय उत्पादनले बजार पाउनुका साथै रोजगारी सिर्जना र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

कर्णालीको आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्योग, कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनसँग जोड्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न आवश्यक रहेको मन्त्री खड्काले बताइन् ।

अनुगमनमा मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख राधाकृष्ण दास, राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेशका प्रमुख सरोजकुमार सिंहलगायत स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कर्णालीमा उपलब्ध प्राकृतिक स्रोत, कृषि सम्भावना र स्थानीय उद्यमशीलतालाई उत्पादन तथा रोजगारीसँग जोड्ने उद्देश्यले गरिएको यस अनुगमनलाई प्रदेशको औद्योगिक तथा कृषि क्षेत्रको विकासका सम्भावना पहिचान गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार