जगदिश शाही
सुर्खेत।कर्णाली प्रदेशका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माननीय कल्याणी खड्काले कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय डा. भीमबहादुर खत्री र मुख्य न्यायाधिवक्ता माननीय सर्वराज जोशीलाई स्वागत गर्नुभएको छ।
शुक्रबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री खड्काले नवनियुक्त दुवै पदाधिकारीलाई स्वागत गर्दै उहाँहरूको सफल, उपलब्धिमूलक तथा जिम्मेवारीपूर्ण कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।
कार्यक्रममा मन्त्री खड्काले प्रदेशको विकास, सुशासन, न्यायिक व्यवस्था तथा समग्र समृद्धिका लागि प्रदेश योजना आयोग र मुख्य न्यायाधिवक्ताको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ। प्रदेशको आवश्यकता, सम्भावना र प्राथमिकतालाई पहिचान गर्दै विकासका योजना प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायबीच आपसी समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहने देखिन्छ।
कर्णाली प्रदेशको समग्र विकास र नागरिकको अपेक्षाअनुसार परिणाममुखी काम गर्न नवनियुक्त पदाधिकारीहरूको अनुभव, क्षमता र जिम्मेवारीले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उक्त अवसरमा मन्त्री खड्काले दुवै पदाधिकारीको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी दिनमा कर्णालीको विकास र समृद्धिका लागि प्रभावकारी सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ।