२०८३ कात्तिक ११ , मंगलबार

फ्लो ओपन स्कुल नेपालद्वारा ६३९ झोला वितरण, सामाजिक सेवामा शाही सर सक्रिय



जगदिश शाही
कालिकोट । फ्लो ओपन स्कुल नेपालले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हालसम्म ६३९ वटा झोला वितरण गरेको छ। विद्यार्थीलाई शैक्षिक सामग्रीको अभावमा अध्ययन गर्नुपर्ने अवस्थाबाट मुक्त गराउने उद्देश्यले संस्थाले विभिन्न विद्यालयमा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको हो।

फ्लो ओपन स्कुल नेपालका अध्यक्ष टोपबहादुर शाही सरको पहलमा विद्यार्थीको शैक्षिक विकास र अध्ययनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो। शाही सर श्री जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक समेत हुनुहुन्छ। उहाँ विद्यालयको शैक्षिक जिम्मेवारीसँगै सामाजिक सेवाका गतिविधिमा पनि सक्रिय रहँदै आउनुभएको छ।

अध्यक्ष  शाही सरको अनुसार फ्लो ओपन स्कुल नेपालको मुख्य उद्देश्य दुर्गम तथा ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै गाउँ र समुदायमा रहेर सहज, सुरक्षित र अर्थपूर्ण शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्नु हो। परम्परागत शिक्षण पद्धतिसँगै सिर्जनात्मक गतिविधि, खेलकुद, प्रकृति, जीवनोपयोगी सीप र सामुदायिक सहभागितामार्फत बालबालिकाको बौद्धिक, शारीरिक तथा भावनात्मक विकासमा सहयोग पुर्‍याउनु संस्थाको लक्ष्य रहेको छ। साथै, आर्थिक अभाव तथा भौगोलिक कठिनाइका कारण बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय समुदायको सहकार्यमा गुणस्तरीय तथा समावेशी शिक्षाको पहुँच विस्तार गर्दै आत्मनिर्भर र सक्षम समुदाय निर्माणमा योगदान पुर्‍याउने लक्ष्य संस्थाले लिएको छ।

संस्थाका अनुसार श्री देव आधारभूत विद्यालय, ओदा, श्री दाफे जनता आधारभूत विद्यालय, सिम्खेत, श्री महादेव आधारभूत विद्यालय, गणेशकोट, श्री जगन्नाथ आधारभूत विद्यालय, कतमपुर,  श्री जनता आधारभूत विद्यालय, तिलागुफा–११, ढिम्निया, फ्लो ओपन स्कुल नेपाल, थाम्खेत, काजु जनशिक्षा आवासीय आधारभूत विद्यालय, डिल्लिकोट र कालिका माध्यमिक विद्यालय, गेला लगायतका विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ।

कालिकोटकै उत्कृस्ट विधालय कालिका माध्यमिक विद्यालय, गेला लाई उत्साह स्वरुप शिक्षक तथा कर्मचारीलाई ४० थान डायरी र कलम वितरण गरिएको थियो। साथै, विद्यार्थीको खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले बल र नेटसमेत हस्तान्तरण गरिएको थियो। सामग्री प्राप्त गरेपछि विद्यार्थी तथा शिक्षक–कर्मचारीले खुसी व्यक्त गरेका थिए। शाही सरको भनाइ छ।

काजु जनशिक्षा आवासीय आधारभूत विद्यालयमा सहिदका छोराछोरी, टुहुरा बालबालिका तथा अति विपन्न परिवारका बालबालिकालाई आवासीय व्यवस्थापनसहित निःशुल्क शिक्षा प्रदान गरिँदै आएको छ। यस्ता बालबालिकाको शिक्षामा पहुँच बढाउन र आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन संस्थाले सहयोग गर्दै आएको जनाएको छ।

शाही सरले बाल्यकालमा आफूले भोगेको दुःख र अभावलाई स्मरण गर्दै आर्थिक समस्याका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सामाजिक सेवामा लागेको बताउनुभएको छ। उहाँका अनुसार शैक्षिक सामग्रीको अभावले विद्यार्थीको पढाइमा असर पर्नुका साथै उनीहरूमा मानसिक तनावसमेत उत्पन्न हुन सक्छ। त्यसैले विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराएर अध्ययनका लागि सहज वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।

शाही सरले सामाजिक सेवालाई आफ्नै विद्यालय वा महावै गाउँपालिकामा मात्र सीमित नराखी अन्य गाउँपालिका, नगरपालिका तथा विभिन्न विद्यालयसम्म विस्तार गर्ने लक्ष्य रहेको बताउनुभएको छ। जस्तोसुकै परिस्थिति आए पनि आफूले सकेसम्म सामाजिक सेवाका कामलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता छ।

त्यसैगरी, शिक्षक, कर्मचारी तथा सरोकारवालाको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम सञ्चालन गर्ने र बेरोजगार यूवा लाई कम्यूटर, सिपमा जोड्ने, नेतृत्व विकासमा सहयोग पुर्‍याउने योजना पनि रहेको उहाँले बताउनुभएको छ। युवामा नेतृत्व क्षमता विकास गरी उनीहरूलाई सकारात्मक सामाजिक परिवर्तनमा सहभागी गराउनु आवश्यक रहेको उहाँको धारणा छ।

फ्लो ओपन स्कुल नेपालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार तथा सम्बन्धित वडाका अध्यक्षहरूप्रति आभार व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक विकास, शिक्षामा पहुँच विस्तार र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

 

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार