समाचार सारांश
- सुर्खेतकाे सिम्ता–१ र जाजरकाेट शिवालय–२ काे सिमानामा खनेटा मेला सम्पन्न।
- करिब ८ हजारभन्दा बढीको सहभागिता।
- काठे पिङ, मयुर नाच, सिंगारु नाच, बाजागाजा र झाँकी प्रदर्शन।
सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिका–२ र सुर्खेतको सिम्ता गाउँपालिका–१ को सिमानामा लाग्ने खनेटा मेला यसवर्ष पनि धुमधामसँग सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने हरिबोधनी एकादशीको अवसरमा प्रत्येक वर्ष आयोजना हुने यो परम्परागत मेलामा यसपालि करिब ८ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको खनेटा बजार व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र जिसीले जानकारी दिए।
कार्तिक महिनामा मनाइने मेलामा स्थानीय मात्र नभई जाजरकोट, सल्यान, सुर्खेत, रुकुमपश्चिम लगायतका विभिन्न जिल्लाबाट सहभागि भएकाे अध्यक्ष जिसीले बताए । उनका अनुसार मेलामा काठे पिङ, मयुर नाच, चिङ्गाड गाउँपालिकाको सांस्कृतिक कार्यक्रम, सिंगारु नाच, स्थानीय बाजागाजा लगायतका विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएका थिए।
यस्तै, मेलामा सहभागी शिवालय–२ लयकाँडाका जनक शाहीले यो जात्रालाई धार्मिक पर्व मात्र नभई संस्कृति, एकता र पहिचानको प्रतीकका रूपमा स्वीकार गरिएको बताए। उनका अनुसार मेलामा देवी–देवताका डोला, ढोल–नगारा, पञ्चेबाजा तथा विभिन्न झाँकी नृत्य प्रस्तुत गरेकाे बताए । यता, अध्यक्ष जिसीले आगामी वर्षदेखि मेलालाई अझै नयाँ व्यवस्थापन र थप प्रभावकारी तयारीसहित मनाउने प्रतिबद्धता जनाए।
तस्बिरहरु हेर्नहाेस् –



