सिद्धदर्शन संवाददाता
सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतको आयोजनामा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत २०८३ साल भदौ २६ गते इलाका प्रहरी कार्यालय लेकबेँसी, सुर्खेतमा कार्यरत २१ जना, इलाका प्रहरी कार्यालय बाँदेपिपल, सुर्खेत तथा मातहतका कार्यालयमा कार्यरत ३४ जना र इलाका प्रहरी कार्यालय देवस्थल, सल्यानमा कार्यरत १६ जना गरी जम्मा ७१ जना प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो।
कर्णाली प्रदेश प्रहरी अस्पतालका अस्पताल प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा। अमितकुमार ठाकुरसहित सात जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि वितरण, सामान्य प्रयोगशाला परीक्षण तथा प्रहरी कर्मचारीको बीएमआई गरेको थियो।
कार्यक्रमका क्रममा अस्पताल प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा। ठाकुरले प्रहरी कर्मचारीलाई स्वस्थ जीवनशैली, प्राथमिक उपचार तथा मादक पदार्थ र सुर्तीजन्य पदार्थको सेवनबाट हुने असरबारे परामर्श तथा सचेतनामूलक कक्षा समेत सञ्चालन गर्नुभएको थियो।
प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कर्णाली प्रदेश प्रहरी अस्पतालले जनाएको छ।