२०८३ असोज २५ , आइतबार

दुर्घटनाको जोखिम घटाउन सुर्खेतमा ‘ब्ल्याक स्पट उपचार अभियान’



सुर्खेत । सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा ट्राफिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले सुर्खेतमा जोखिमयुक्त सडक क्षेत्रको पहिचान गरी ‘ब्ल्याक स्पट उपचार अभियान’ सञ्चालन गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको संयुक्त आयोजनामा प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालको नेतृत्वमा अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–८ स्थित इत्राम खोला पुलनजिक ट्राफिक सचेतनामूलक बोर्ड राखिनुका साथै पुलको रेलिङमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ। त्यसैगरी, वीरेन्द्रनगर–१२ स्थित जागृति चोकमा सवारीसाधनको गति नियन्त्रण र सडकको दृश्यता बढाउने उद्देश्यले टायर तथा रिफ्लेक्टिभ स्टिकर राखिएको प्रहरीले जनाएको छ।

विशेषगरी जोखिमयुक्त सडकखण्ड तथा चोकमा आवश्यक संकेत र परावर्तक सामग्रीको व्यवस्था गर्दा चालकलाई सडकको अवस्था बुझ्न सहज हुने र सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सडक सुरक्षालाई प्रभावकारी बनाउन जोखिमयुक्त स्थानमा आवश्यक सुधार गर्नुका साथै ट्राफिक नियमको पालना र चालक तथा पैदलयात्रीमा सचेतना अभिवृद्धि गर्नु पनि उत्तिकै आवश्यक छ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार