२०८३ असोज २२ , बिहीबार

हरि बहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’ अवार्डबाट सम्मानित



सुर्खेत । नेपाली एथलेटिक्सका पूर्वधावक तथा प्रशिक्षक हरि बहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’ अवार्डबाट सम्मानित भएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी कर्णाली याक्सले रोकायालाई नगद २ लाख ५० हजार रुपैयाँसहित ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’ अवार्ड प्रदान गरेको हो।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रोकायालाई सम्मान प्राप्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

सम्मान कार्यक्रममा परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले हरि बहादुर रोकाया कर्णालीको गौरव तथा नेपाली खेलकुद क्षेत्रका प्रेरणादायी व्यक्तित्व रहेको बताए। उनले कर्णालीको शान र गौरवका रूपमा स्थापित रोकायालाई सम्मान गरेकोमा कर्णाली याक्सप्रति धन्यवाद व्यक्त गरे।

सदस्य–सचिव चन्दले नेपाल प्रिमियर लिगमार्फत कर्णालीमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरको मञ्चमा अवसर प्रदान गर्ने कर्णाली याक्सको प्रयास प्रशंसनीय रहेको बताए।

कर्णालीको खेलकुद विकासमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका रोकायालाई गरिएको सम्मानले प्रदेशका खेलाडी तथा नयाँ पुस्तालाई खेलकुदमा अघि बढ्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार