वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक विवरणअनुसार उनीसँग १० तोला सुन र १० तोला चाँदी छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति, शिक्षक हुँदाको तलब र व्यवसायबाट प्राप्त आम्दानीबाट जोडेको उनले उल्लेख गरेका छन् ।
विवरणअनुसार ४ तोला सुन पैतृक सम्पत्ति हो भने २ तोला शिक्षक हुँदाको तलबबाट जोडिएको हो । व्यवसायबाट प्राप्त पारिश्रमिकबाट २०८० सालमा थप २ तोला र २०८१ सालमा २ तोला सुन जोडेको उल्लेख छ ।
मुख्यमन्त्री शाहीको मुगुमा पैतृक सम्पत्तिका रूपमा दुईवटा घर छन् । तीमध्ये एउटा आमा ऐशा शाहीको नाममा सोरु गाउँपालिका–६ मा छ । २ हजार ९ सय ४३।५० वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त घर आमाको नाममा रहेको विवरणमा उल्लेख छ । यस्तै छोरी उस्मिता शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ५६।२५ वर्गमिटर क्षेत्रफलको अर्को घर छ ।
उनको नाममा रहेको जमिन पनि पैतृक र व्यवसायबाट जोडेको सम्पत्ति भएको उल्लेख छ । साविक जिमा गाविसमा उनको नाममा ४०२ वर्गमिटर र श्रीमती नारायणदेवीको नाममा ४२४ वर्गमिटर जग्गा छ । यस्तै आमाको नाममा जिमाकै विभिन्न वडामा २२ भन्दा बढी कित्ता जग्गा रहेको र त्यसको स्रोत पैतृक भएको जनाइएको छ ।
सम्पत्ति विवरणमा बैंक मौज्दात २ लाख रुपैयाँ रहेको उल्लेख छ । उक्त रकम सरकारी सुविधाबापत प्राप्त भएको जनाइएको छ ।
मुख्यमन्त्री शाहीले २०७९ सालमा कृषि विकास बैंक, मुगुबाट १८ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसको केही रकम तिरिसकेको विवरणमा उल्लेख छ । यस्तै एक थान स्कुटर छोरीको नाममा रहेको जनाइएको छ ।
उनसँग ९० हजार रुपैयाँ मूल्यको सामसुङ र ६० हजार रुपैयाँको भिभो मोबाइल फोन छन् । यस्तै १ लाख १० हजार रुपैयाँको क्यामरा र ९० हजार रुपैयाँको ल्यापटप रहेको उल्लेख छ । पशुधनतर्फ ७ वटा गाईगोरु रहेको विवरणमा जनाइएको छ ।